काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिनको अवसरमा सम्पूर्ण आमाहरूप्रति श्रद्धा र सम्मान व्यक्त गर्दै शुभकामना दिएका छन् ।
शुक्रबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’ संस्कृत श्लोकउद्धृत गर्दै आमा र मातृभूमिको महिमा स्वर्गभन्दा पनि उच्च रहेको उल्लेख गरेका हुन् ।
उनले भने, ‘माताको काख न्यानो, चरण तीर्थजस्तै पवित्र छ । मातातीर्थ औँसीको यस पावन अवसरमा माया र त्यागको अनुपम उदाहरण बनिरहने सृष्टिकी मुहान सम्पूर्ण आमाहरूप्रति हार्दिक सम्मान, कृतज्ञता र नमन व्यक्त गर्दछु । आमाहरूको दीर्घायुको कामना गर्दछु ।’
उनले सृष्टिकी मुहान आमाहरूलाई माया र त्यागको अनुपम उदाहरणका रूपमा चित्रण गर्दै सम्पूर्ण आमाहरूको दीर्घायुको कामना गरेका छन् ।
उनले भने, ‘जीवनको पहिलो गुरु अनि अनन्त ममताकी स्रोत ‘आमाको मुख हेर्ने दिन’ आज सम्पूर्ण आमाहरू र नेपाल आमाको सदैव उज्यालो मुहारको कामना गर्दछु । आमालाई सधैं हँसाउन सकौँ, हामी सन्तानहरूको कर्ममा आमाले सदैव गर्व गर्न सकून् ।’
उनले आमालाई जीवनको पहिलो गुरु र अनन्त ममताकी स्रोतका रूपमा सम्मान व्यक्त गरेका छन् ।