संसदीय समितिहरूको सभापतिमा आज मनोनयन दर्ता, भोलि निर्वाचन

संसदीय समितिहरूको सभापतिमा आज मनोनयन दर्ता, भोलि निर्वाचन

काठमाडौं। संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिका लागि आज मनोनयन दर्ता हुँदै छ ।

प्रतिनिधिसभाअन्तर्गतका १० र दुई संयुक्त समितिको सभापति चयन गर्न भोली हुने निर्वाचनका लागि आज दिउँसो १ देखि दिउँसो ४ बजेसम्म मनोनयनपत्र दर्ताको समय तोकिएको संघीय संसद् सचिवालयले जनाएको छ । मनोनयन दर्ताको समय सकिएपछि आजै साढे ४ बजे उमेदवारहरूको सूची प्रकाशन गरिने छ ।

समिति सभापतिको निर्वाचन भने भोली शुक्रबार अपराह्न १ बजे बस्ने सम्बन्धित समितिको बैठकमा प्रस्तावकले प्रस्ताव गर्ने, समर्थकले सम्बन्धित प्रस्तावको समर्थन गर्ने र उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिनेछ ।

चैत २७ गते प्रतिनिधिसभाले विषयगत समितिमा रहने सदस्यहरू तय गरेको थियो । सदस्य तय गरिएको बैठकमा सभामुख डोलप्रसाद अर्यालले वैशाख ४ गतेलाई संसदीय समितिका सभापतिको निर्वाचनको मिति तोकेका थिए ।

प्रतिनिधिसभाअन्तर्गत कानुन, न्याय तथा मानवअधिकार, कृषि, सहकारी तथा प्राकतिक स्रोत, पूर्वाधार विकास, महिला तथा सामाजिक मामिला, राज्यव्वस्था तथा सुशासन, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि, सार्वजनिक लेखा, अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति रहेका छन् । संयुक्त समितिका रूपमा संसदीय सुनुवाइ र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति छन् । प्रतिनिधिसभाको गत शुक्रबारको बैठकले १० विषयगत समिति गठन गरेको हो ।