काठमाडौं। नेपाली कांग्रेसका प्रदेशसभा सदस्य द्रोर्णकुमार कुँवरले पदबाट राजीनामा दिएका छन् । मन्त्री पद नपाएपछि मन्त्री कुँवरल पदबाट राजीनामा दिएका हुन् ।
बागलुङ जिल्ला क्षेत्र नम्बर २ (२) बाट प्रत्यक्ष निर्वाचित कुँवरले गण्डकी प्रदेशसभाका सभामुखलाई सम्बोधन गर्दै बुधबार राजीनामा बुझाए । उनले वैशाख २ गतेदेखि लागू हुने गरी आफ्नो राजीनामा दिएका हुन्।
गण्डकी सरकारमा बुधबार मन्त्रिपरिषद हेरफेर हुँदा कुँवर पनि मन्त्री बन्ने प्रयासमा थिए । तर मुख्यमन्त्री एवं दल नेता सुरेन्द्रराज पाण्डेले उनलाई मन्त्री बनाउन नमानेपछि उनले राजीनामा दिएको कांग्रेसनिकट स्रोत बताउँछ । उनले रिसको झोंकमा दिएको राजीनामा फिर्ता गर्न सक्ने पनि स्रोतले बतायो ।
२०७९ को प्रदेश सभा निर्वाचनमा कुँवर बागलुङ– २ (ख)बाट सांसद निर्वाचित भएका थिए । गण्डकी प्रदेशमा बुधबार नेपाली कांग्रेस र नेकपा एमालेको सहमति अनुसार मुख्यमन्त्री बाहेक सबै मन्त्री हेरफेर भएका छन् ।