काठमाडौं। मध्यपूर्वका देशमा जारी द्वन्द्वका कारण समस्यामा परेका नेपाली नागरिकको उद्धारका लागि सरकारले तीन दिन विशेष उडान सन्चालन गर्ने भएको छ।
पछिल्लो एक महिनादेखि जारी द्धन्दका कारण कयौ नेपाली द्वन्द्वग्रस्त मुलुकमै रोकिएपछि सरकारले आजदेखि तीन दिनमा चार वटा विशेष उडान सञ्चालनमा ल्याउन लागेको हो। त्यसका लागि नेपाल वायुसेवा निगमले आज काठमाडौं–दुबई, भोली दुबई–काठमाडौं र पर्सी काठमाडौं–दमाम र दमाम–काठमाडौं उडान गर्ने तयारी गरेको छ ।
सरकारको तयारी अनुसार आज काठमाडौंबाट निगमको आरए २२९ कल साइन विमान दुबई जाने भएको छ । उक्त विमानमा आउन पहिले नै टिकट बुक गराएका नेपाली नागरिकसहित आउन चाहनेले समयमै सम्पर्क गर्न भनिएको छ ।
त्यस्तै उक्त विमान दुबईबाट भोली नेपाल आउने कार्यतालिका रहेको छ । चैत २२ गते काठमाडौंबाट निगमको विमान साउदी अरेबियाको दमाम जाने तय भएको छ भने दमामबाट सोही दिन विमान नेपाल आउने कार्यसूची रहेको छ ।