कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्ने प्रधानमन्त्री कार्कीको तयारी

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्ने प्रधानमन्त्री कार्कीको तयारी

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले भदौ २३ र भदौ २४ गतेको घटनाको बारेमा छानबिन गर्न बनेको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्नेगरि छलफल थालेकी छिन्। जाँचबुझ आयोगका पदाधिकारीले दुई साताअघि नै प्रतिवेदन प्रधानमन्त्री कार्कीसमक्ष पेश गरिसकेको छ ।तर, प्रधानमन्त्रीले उक्त प्रतिवेदन सार्वजनिक गर्ने कुनै सुरसार कसेकी थिइनन्।

बरु, यो बीचमा विभिन्न राजनीतिक दल र जेनजी आन्दोलनमा नै सरिक भएका अभियन्ताहरुले नै तत्काल प्रतिवेदन सार्वजनिक गर्न दबाव बढाए। अहिलेपनि माइतघीरलगायत विभिन्न कलेजहरुमा आयोगको प्रतिवेदन चाँडो सार्वजनिक गरिनुपर्ने माग राखेर प्रदर्शन भइरहेका छन्। उता, प्रधानमन्त्री कार्की भने आफ्नो जिम्मेवारीबाट विदा हुने तयारीमा छिन्।

यही चैत्र १३ गते रास्वपाका वरिष्ठ नेता बालेन शाह प्रधानमन्त्रीमा नियुक्त हुँदैछन्। रामनवमीको दिन पारेर शाहको शपथ राखिएको छ। प्रधानमन्त्री कार्कीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पनि करिब करिब खाली गरिसकेकी छिन्। उनी आज-भोलिभित्रै धापासी जान मिल्नेगरि तयारी अवस्थामा छिन्।

चौतर्फी दबाब बढेको र रास्वपाका नेताहरुले समेत जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्दा राम्रो हुन्छ भन्ने आग्रह गरेपछि प्रधानमन्त्री आजबाट परामर्शमा जुटेकी छिन् । उनले आफ्नो क्याविनेटका केही सदस्यहरुसँग प्रतिवेदन सार्वजनिक गर्ने विषयमा परामर्श गरेको बताईन्छ । प्रतिवेदन आज/भोलिभित्रै सार्वजनिक हुने चर्चा छ । तर, प्रधानमन्त्रीको सचिवालयले भने अहिले परामर्शमा रहेको भन्दै कुनै निर्णय नलिईएको स्पष्ट पारेको छ ।