काठमाडौं। भदौ २३ र भदौ २४ गतेको घट्नाको छानबिन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न चौतर्फी माग बढेको छ । आयोगका पदाधिकारीले सरकारलाई प्रतिवेदन बुझाईसकेका छन् । तर, प्रधानमन्त्री सुशीला कार्कीले अहिलेसम्म प्रतिवेदन सार्वजनिक गरेकी छैनन् । सडकमा समेत प्रतिवेदन सार्वजनिक गर्न माग राखेर प्रदर्शन भएका छन् ।
दलका नेताहरुले पनि उक्त प्रतिवेदन चाँडो सार्वजनिक गर्न माग गरेका छन् । कतिसम्म भने जेनजी आन्दोलनमा शहीद भएका परिवारका सदस्यहरुले समेत प्रतिवेदन चाँडो सार्वजनिक गर्न र दोषीहरुमाथि कारबाही गर्न माग गरेका छन् । तर, प्रधानमन्त्री कार्कीले भने अहिलेसम्म प्रतिवेदन सार्वजनिक गर्ने कुनै छाँटकाँट देखाएकी छैनन् ।
उनी अब बन्ने सरकारलाई नै प्रतिवेदन बुझाएर बिदा हुन चाहन्छिन् । यही चैत्र १३ गते रास्वपाका वरिष्ठ नेता बालेन शाह प्रधानमन्त्री बन्दैछन् । सुशीला सरकार बिदा हुन जम्मा ४ दिन बाँकी छ । यो चार दिनको अवधिमा प्रधानमन्त्रीले जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सम्भावना न्यून रहेको बताईन्छ ।
निर्वाचनअघि नै प्रतिवेदन सार्वजनिक गरिनुपर्ने माग थियो । तर, अहिले आयोगले सरकारसमक्ष प्रतिवेदन बुझाईसक्दा पनि प्रधानमन्त्रीले प्रतिवेदन सार्वजनिक गर्न गम्भीरता नदेखाउनुलाई आलोचनाको विषय बनाईएको छ ।