कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं। कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै घाइते “जेनजी नेपाल” समूहले आज पनि माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।

प्रदर्शनकारीहरूले “जेनजी आन्दोलन खोलामा, प्रतिवेदन झोलामा” लगायतका नाराबाजी गर्दै सरकारसँग प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेका हुन्। उनीहरूले लामो समयसम्म प्रतिवेदन सार्वजनिक नगर्दा सत्य तथ्य लुकाउन खोजिएको आशंका व्यक्त गरेका छन्।

माइतीघर क्षेत्रमा भेला भएका प्रदर्शनकारीहरूले शान्तिपूर्ण रूपमा धर्ना दिँदै पारदर्शिता र जवाफदेहिताको माग गरेका थिए। उनीहरूले कार्की आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक भए मात्र घटनाको वास्तविकता बाहिर आउने र पीडितले न्याय पाउने विश्वास व्यक्त गरे।

प्रदर्शनमा सहभागी घाइतेहरूले आफूहरू आन्दोलनका क्रममा प्रभावित भएको उल्लेख गर्दै राज्यले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताएका छन्। उनीहरूले ढिलाइ नगरी प्रतिवेदन सार्वजनिक गर्न र दोषीमाथि कारबाही गर्न सरकारसँग जोडदार माग गरेका छन्।

उता, सुरक्षा व्यवस्था भने कडा पारिएको थियो। कुनै अप्रिय घटना हुन नदिन सुरक्षाकर्मीहरू माइतीघर क्षेत्रमा परिचालन गरिएको थियो।

प्रदर्शनकारीहरूले आफ्नो माग पूरा नभएसम्म आन्दोलनलाई निरन्तरता दिने चेतावनी दिएका छन्।