काठमाडौं । फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रबाट प्रतिस्पर्धा गरेका १२ पूर्वमन्त्री पराजित छन् । फागुन २१ को निर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबाट संघ र प्रदेश सरकारमा मन्त्री भइसकेका १४ पूर्वमन्त्री मध्ये १२ जना पूर्वमन्त्रीले हार व्यहोरेका हुन् ।
जनताबाट अस्वीकृत हुनेमा अछाम क्षेत्र–१ बाट उम्मेदवार बनेका नेकपाका उम्मेदवार डा भीमबहादुर रावल एक हुन् । पटक पटक संघीय मन्त्री भइसकेका र पूर्वउपप्रधानमन्त्री समेत रहेका रावललाई नेपाली कांग्रेसका उम्मेदवार भरतकुमार स्वारले पछि पारे ।
नेकपाबाटै डोटीमा उम्मेदवार वनेका सुदूरपश्चिम प्रदेश सरकारका संस्थापक मुख्यमन्त्री त्रिलोचन भट्ट पनि चुनावी लडाइँमा पछाडि परे । लगातार पाँच वर्ष मुख्यमन्त्री हुने अवसर पाएका भट्टले चुनावमा भने चौथो स्थान पाए ।
नेकपाबाटै कैलाली ५ मा उम्मेदवार बनेका संघीय सरकारका पूर्वमन्त्री प्रेमबहादुर आलेको संसदीय यात्रामा पनि ब्रेक लागेको छ । २०७० सालको संविधानसभाको निर्वाचनदेखि डोटीबाट लगातार जित्दै आएका आलेले यसपटक क्षेत्र परिवर्तन गरेर कैलाली ५ बाट उम्मेदवार बनेका थिए । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका आनन्दबहादुर चन्दले रोके ।
नेकपाबाटै उम्मेदवार बनेकी संघीय सरकारका अर्का पूर्वमन्त्री बिना मगर पनि पराजित भइन् । कञ्चनपुर क्षेत्र–१ मा प्रतिस्पर्धा गरेकी पूर्व खानेपानी मन्त्री मगरलाई रास्वपाका जनक सिंह धामीले रोके ।
सुदूरपश्चिम प्रदेश सरकारका अर्का पूर्वमन्त्री प्रकाशबहादुर शाहलाई नेकपाले बाजुराबाट चुनावी मैदानमा उतारेको थियो । सो क्षेत्रबाट उनलाई नेपाली कांग्रेसका उम्मेदवार जनकराज गिरीले रोकेका छन् । नेकपाबाटै कञ्चनपुर–३ मा उम्मेदवार बनेका प्रदेश पूर्वमन्त्री मानबहादुर सुनारलाई रास्वपाका ज्ञानेन्द्र सिंह महताले रोकेका छन् ।
नेकपा (एमाले) बाट कैलाली क्षेत्र–४ मा उम्मेदवार बनेका पूर्वमन्त्री लेखराज भट्ट चुनावी प्रतिस्पर्धामा तेश्रो भए । सो क्षेत्रबाट रास्वपाका खेमराज कोइरालाले उनलाई पाखा लगाए । एमालेबाटै बैतडीमा उम्मेदवार बनेका दामोदर भण्डारी सघीय सरकारका पूर्वमन्त्री हुन् । उनलाई पनि यो चुनावमा रास्वपाका उम्मेदवार हरिमोहन भण्डारीले तेश्रो स्थानमा पु¥याइदिए ।
कैलाली–३ मा प्रतिस्पर्धा गरेका संघीय सरकारका पूर्वमन्त्री गौरीशंकर चौधरी यसपटक पाँचौ स्थानमा रोकिए । सो क्षेत्रबाट रास्वपाका जगतप्रसाद जोशीले उनलाई जितेका छन् । कञ्चनपुर क्षेत्र–१ बाट चुनावी प्रतिस्पर्धामा रहेका प्रदेश सरकारका पूर्वमन्त्री तारा लामा तामाङ पनि पराजित भएका छन् । एमालेबाट उम्मेदवार बनेका उनी चौथो स्थानमा पुगे ।
नेपाली कांग्रेसले कञ्चनपुर निर्वाचन क्षेत्र–२ मा पूर्वमन्त्री नारायणप्रकाश (एनपी) साउदलाई रास्वपाका दीपक राज बोहराले फराकिलो मतान्तरले हराए । कांग्रेसबाटै कैलाली–१ मा प्रतिस्पर्धा गरेका संघीय सरकारका अर्का पूर्वमन्त्री जनकराज चौधरीलाई पनि रास्वपाका कोमल ज्ञवालीले पराजीत गराएका छन् ।
सुदूरपश्चिमबाट १२ पूर्वमन्त्रीहरु चुनाव हार्दा दुई पूर्वमन्त्रीहरुले भने सफलता पाएका छन् । नेकपा एमालेबाट दार्चुलामा उम्मेदवार भएका संघीय सरकारका पूर्वमन्त्री गणेशबहादुर ठगुन्ना र अर्का पूर्वमन्त्री जनकराज गिरीले बाजुराबाट चुनाव जितेका छन् ।