रौतहट-४ को उन्नति र प्रगति नै मेरो सपना र जपना बनेको छ : ऋषि धमला (वाचापत्रसहित)

रौतहट-४ को उन्नति र प्रगति नै मेरो सपना र जपना बनेको छ : ऋषि धमला (वाचापत्रसहित)

काठमाडौं। आम जनता पार्टीको तर्फबाट रौतहट–४ का उम्मेदवार ऋषि धमलाले आफ्नो वाचापत्र सार्वजनिक गरेका छन् । उनले विगत ३५ बर्षदेखि नेपालको पत्रकारितामा अविच्छिन्न संघर्षरत आफ्नो अबको दिन रौतहट क्षेत्र नम्बर ४ जनताहरुको माझमा विताउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले भनेका छन्,‘रौतहट–४ को उन्नति र प्रगति नै मेरो सपना र जपना बनेको छ । विश्वास गर्नुहोस् ऋषि धमलाले कहिले धोका दिनेछैन । निर्वाचनका लागि घरदैलोमा पुग्दा कतिपय समस्या मैले तत्काल समाधान गरेको छु भने केहीको उद्धार गरेको छु । पत्रकारिताको क्रममा मैले देश विदेशका धेरै प्रतिष्ठित उद्योगपति,व्यवसायी, चिकित्सदेखि लिएर समाजमा योगदान पुर्याएका धेरै लब्ध प्रतिष्ठित व्यक्तिहरु चिनेको छु । मतका लागि तपाईहरुलाई जोडेको हात म उहाँहरुलाई पनि जोड्नेछु मात्र रौतहट ४ का विकासका लागि । जय देश जय मधेश ।’

धमलाले गरिबीको कारण रौतहट–४ का जनताले भोग्नुपरेको पीडालाई नजिकबाट नियालेको पनि उल्लेख गरेका छन् । गरिबी अन्त्यको लागि हरेक पालिकामा रोजगारीको लागि विभिन्न आयाम विकास गर्नेदेखि आयमूलक कार्यक्रमहरु सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले भनेका छन्–‘गरिबीको कारण रौतहट ४ का जनताले भोग्नु परेको पीडालाई नजिकबाट नियालेको छु । यस्को अन्त्यका लागि हरेक पालिकामा रोजगारीका लागि बिभिन्न आयामको विकास गर्नेदेखि आयमुलक कार्यक्रमहरु सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । यस्का लागि व्यवसायिक कृषि खेतीदेखि महिला स्वरोजगारका कदमहरु घरघरमा सञ्चालन गरिनेछ । यसका लागि मैले ‘हर घर मिले रोजगार’ नाराका साथ एउटा अभियान नै चलाउने छु । हरेक घरका गृहणी तथा महिलालाई सिपमुलक तालिम मात्र नभइ समुदायमा बसेर गर्न सकिने सामूहिक कार्यमा पनि प्रोत्साहन गर्नेछु ।’

यस्तो छ उम्मेदवार धमलाको वाचापत्र

‘रौतहट चार धमलाका बार’
‘हर घर मिले रोजगार’
रौतहट क्षेत्र नम्बर ४ का वासिन्दा एवं मतदातासमक्ष ऋषि धमलाको वाचापत्र

-के गरिबी नै सहनु पर्ने हो रौतहट – ४ का वासिन्दाले ?
-के अशिक्षाबाट उम्कन नपाउने हुन यहाँका बालबालिकाले ?
-के स्वास्थ्योपचारका लागि अरु जिल्लामा नै धाउनु पर्ने हो यहाँका नागरिकले ?
-के रोजगारीको लागि सधै विदेश र देशका अन्य ठाउँमा भौतारिनु मात्र पर्ने हो रौतहटवासीले ?
-के खानेपानीको अभावले रौतहटवासीले सदैव तडपिनु पर्ने हो ? आर्सेनिक पानी कहिलेसम्म खाइरहने हामीले ?
-के सिंचाई सुविधाको अभावमा रौतहटका किसानले जहिले पनि आकाशे पानीमा नै भर पर्नु पर्ने हो ?

रौतहट किन पछि पर्यो या पारियो ? नेपालको राजनीतिक इतिहासमा रौतहटको भूमिका गौरवालाग्दो छ । तर रौतहटको अवस्था भने टीठलाग्दो छ । राणा प्रधानमन्त्री चन्द्रशमशेर राणाले बसाएको चन्द्रनिगाहपुर बजार र निर्माण गरेको चन्द्रनहर । यति मात्र नभइ जंगबहादर राणाले रोजेको ठाउँ आज हरेक दृष्टिकोणले पछि परेको छ । किन यस्तो भयो ? लोकतान्त्रिक आन्दोलनमा ऐतिहासिक भूमिका खेलेको रौतहट अहिले हरेक दृष्टिकोणले किन पछि ? देशलाई प्रधानमन्त्री दिएको रौतहट किन उपेक्षित ? ऐतिहासिक सेनानी शेख इद्रिसले लोकतान्त्रिक आन्दोलनका लागि गरेको त्यागको मूल्य के ? यो प्रश्नको जवाफ खोज्दै एक लोकप्रिय पत्रकारको परिचय बनाएको म ऋषि धमलाले रौतहट निर्वाचन क्षेत्र नम्बर ४ रोजेको छु । मधेशसँगको मेरो साइनो र सम्बन्ध नयाँ होइन । मधेशको हरेक आन्दोलनलाई नजिकबाट हरेको मैले मधेशको हरेक दुःखसुखमा साथमा छु । मेरो यो योगदान मधेशको माटोमा कोरिसकिएको छ । तर अब लेख्न बाँकी छ मेरो पसिना, विवेक, त्याग अनि समर्पणले । यही अवसर दिए गढीमाईको कसम खाएर भन्न सक्छु रौतहट ४ को काँचुली म फेर्न सक्छु । मैले मेरो संकल्प स्वरुप ‘हर घर मिले रोजगार’ मात्र नभइ ‘छोरी पढाउ समाजलाई संस्कारी बनाउ’ देखि ‘विद्यालय जाऔं अशिक्षा भगाऔं’ हुँदै ‘स्वस्थ्य समाज सबल नागरिक’ सम्मको अवधारणा अघि सारेको छु । मेरो यो प्रतिज्ञा पूरा गर्न यसपटक ‘रौतहट चार धमलाका बार’ भन्ने नारालाई सार्थक बनाइदिन सविनय विनम्र अनुरोध गर्दै मेरो अवधारणा अघि सारेको छु ।

रौतहट ४ का लागि म के गर्न सक्छु ?
१. शिक्षामा पछि परेको रौतहटको शैक्षिक विकास मेरो पहिलो प्राथमिकतामा पर्नेछ । गरिबीको कारण विचमा नै विद्यालय छाडनु पर्ने अवस्थाको अन्त्य गर्नेछु । विषयगत शिक्षकको अभावको अन्त्य र भौतिक संरचनाको अभावमा बहुकक्षाको सञ्चालनको बाध्यता तोडनेछु । सामुदायिक विद्यालयलाई व्यवस्थित बनाएर बहुउपयोगी शिक्षाका लागि अहोरात्र खट्ने छु । विश्वव्यापीरुपमा चलेको सूचना तथा प्रविधिको अध्ययनका लागि आवश्यक वातावरण विद्यालयदेखि क्याम्पससम्म मिलाउन आवश्यक प्रबन्ध गर्नेछु । मदरसा शिक्षालाई व्यवस्थित बनाउँदै रौतहटमा एउटा मुश्लिम विश्वविद्यालय खोेल्न आवश्यक पहल गर्नेछु । यस्तै रौतहटका जेहेन्दार र गरीब विद्याथीका लागि चिकित्सा, सूचना प्रविधि र व्यवसायिक शिक्षाको क्षेत्रमा उच्च अध्ययनका लागि छात्रवृत्तिका लागि मरिमेट्ने छु ।

२.गरिबीको कारण रौतहट ४ का जनताले भोग्नु परेको पीडालाई नजिकबाट नियालेको छु । यस्को अन्त्यका लागि हरेक पालिकामा रोजगारीका लागि बिभिन्न आयामको विकास गर्नेदेखि आयमुलक कार्यक्रमहरु सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । यस्का लागि व्यवसायिक कृषि खेतीदेखि महिला स्वरोजगारका कदमहरु घरघरमा सञ्चालन गरिनेछ । यसका लागि मैले ‘हर घर मिले रोजगार’ नाराका साथ एउटा अभियान नै चलाउने छु । हरेक घरका गृहणी तथा महिलालाई सिपमुलक तालिम मात्र नभइ समुदायमा बसेर गर्न सकिने सामूहिक कार्यमा पनि प्रोत्साहन गर्नेछु । रोजगारीका लागि विदेश धाइरहनु पर्ने अवस्थाको अन्त्य गर्नेछु । रौतहटको उखुले मूल्य पाउने गरी चिनी मिलहरुसँग सम्बन्ध स्थापित गर्नेछु । रौतहट ४ मा साना ठूलो उद्योग कलकारखाना खोल्न बिभिन्न उद्योगी व्यवसायीलाई मनाउने छु । स्टार्टअफ व्यवसाय गर्न चाहने रौतहटका युवका लागि सरकारी अनुदान र सुलभ ऋणका लागि वित्तीय संस्थाहरुमा पहल गर्नेछु । बेरोजगारीको अन्त्य र गरिबीको विदाई मेरो प्राथमिकता हुनेछन् ।
३.स्वास्थ्यको दृष्टिकोणले अति पछि परेको रौतहटको सबैभन्दा ठूलो समस्या स्तरीय अस्पतालको अभाव पनि हो । रौतहटका अस्पतालहरु रेफर सेन्टर मात्र बन्नु हुँदैन । रौतहट ४ मा नेपालका चर्चित अस्पतालहरुको सम्बन्ध जोडेर स्तरीय एवं सुविधायुक्त अस्पताल खोल्ने मेरो पहल हुनेछ । यस्का लागि हरेक पालिकामा रहेका स्वास्थ्य चौकीलाई प्रभावकारी र दक्ष जनशक्तिको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।
४.खानेपानीको अभाव हटाउन हरेक घरमा एक धारा कार्यक्रम लागू गरेर स्वच्छ पानी उपलब्ध गराउने प्रण गर्दछु । आर्सेनिक पानी पिउनु पर्न बाध्यता हटाउने छु । यसका लागि पानीका स्रोतहरुको सुरक्षा र परिचालनमा विशेष ध्यान दिनेछु ।
५.किसानले भोग्दै आएको सिंचाई समस्याको समाधान मेरो अर्को महत्वपूर्ण प्राथमिकता हुनेछ । सुनकोशी मरिन डाइभर्सन निमार्णाधीन अवस्थामा छ । यस्को यथाशीघ्र सम्पन्नताका लागि सरकारको ढोका ढक्ढक्याउनेदेखि संघीय संसदमा पनि जोडदाररुपमा आवाज उठाउने छु । बागमती नदी र चाँदी खोलाको सिंचाई आयोजनालाई व्यवस्थित बनाएर किसानलाई चाहिएको बखत पानी उपलब्ध हुने व्यवस्था मिलाउने छु । जुनसुकै समयमा सिंचाई उपलब्ध गराएर खेतीपाती र फसल बढाउने तिर मेरो प्राथमिकता हुनेछ । कृषिका लागि सहुलियत ऋण उपलब्ध गराउन आवश्यक पहल गर्नेछु ।
५.मधेशको माटोको मलिलोपन जोगाउन र मधेशलाई मरुभूमिकरण हुनबाट रोक्न चुरे क्षेत्रको संरक्षणमा विशेष ध्यान पुर्याउने छु ।
६.रौतहटको धार्मिक, पौराणिक, ऐतिहासिक र पर्यटकीय स्थलको व्यवस्थित विकास गरी बाह्य तथा आन्तरिक पर्यटक भित्र्याउन विशेष पहल गर्नेछु ।
७.युवाहरुलाई राष्ट्रपति अनुशासित बनाएर खेलकुद मार्फत रौतहट र राष्ट्रको गौरव चुल्याउने मेरो प्राथमिकता हुनेछ । महिला फुटबलमा रौतहट देशकै परिचित नाम हो । महिला फुटबलका लागि रौतहट उर्वर भूमि हो । यहाँ उत्पादित महिला फुटबल खेलाडीहरुले देशको लागि पुर्याएको योगदानलाई स्वर्ण अक्षरले कोरिएको छ । महिला फुटबलको थप विकाससहित पुरुष फुटबलमा पनि उत्तिकै ध्यान पु्र्याउने छु । रौतहट क्रिकेटका लागि पनि परिचित भूमि हो । यस खेलको विकासका लागि मेरो प्रयत्न सदैव रहनेछ ।
विगत ३५ बर्षदेखि नेपालको पत्रकारितामा अविच्छिन्न संघर्षरत म ऋषि धमलाको अबको दिन तपाईहरुको माझमा विताउने छु । रौतहट ४ को उन्नति र प्रगति नै मेरो सपना र जपना बनेको छ । विश्वास गर्नुहोस् ऋषि धमलाले कहिले धोका दिनेछैन । निर्वाचनका लागि घरदैलोमा पुग्दा कतिपय समस्या मैले तत्काल समाधान गरेको छु भने केहीको उद्धार गरेको छु । पत्रकारिताको क्रममा मैले देश विदेशका धेरै प्रतिष्ठित उद्योगपति,व्यवसायी, चिकित्सदेखि लिएर समाजमा योगदान पुर्याएका धेरै लब्ध प्रतिष्ठित व्यक्तिहरु चिनेको छु । मतका लागि तपाईहरुलाई जोडेको हात म उहाँहरुलाई पनि जोड्नेछु मात्र रौतहट ४ का विकासका लागि । जय देश जय मधेश ।
ऋषि धमला
उम्मेद्वार
रौतहट क्षेत्र नम्बर ४
आम जनता पार्टी