धनगढी। बैतडीमा नेकपा एमाले र रास्वपाका कार्यकर्ताबिच झडप हुँदा एमालेका दुई जना घाइते भएका छन्। चुनावी प्रचारप्रसारका प्रचारप्रसारको लागि घरदैलो गर्ने क्रममा डिलासैनि गाउँपालिकास्थित लेक टोलमा दुई पार्टीका कार्यकर्ताबिच झडप भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले दिएको जानकारी अनुसार झडपमा परी डिलासैनी-७ घर भएका एमाले निकट युवा संघका जिल्ला सदस्य जनक धामी र सोही ठाउँका माधव धामी रहेका छन्।
जनकको टाउको र निधारमा चोट लागेको छ भने माधवको ढाड र दाहिने खुट्टामा चोट लागेको प्रहरी निरीक्षक सिंहले बताए।
उनीहरूको उपचार गोकुलेश्वर अस्पताल दार्चुलामा उपचार भइरहेको प्रहरी निरीक्षक सिंहले जानकारी दिएका छन्। प्रहरीले रास्वपाका ५ जना कार्यकर्तालाई नियन्त्रणमा लगेको जनाएको छ।