अरूलाई गाली नगरी आफ्नो एजेन्डामा मत माग्छन् लमजुङका नेकपा उमेदवार तामाङ

अरूलाई गाली नगरी आफ्नो एजेन्डामा मत माग्छन् लमजुङका नेकपा उमेदवार तामाङ

लमजुङ। लमजुङबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका दल तथा स्वतन्त्र उमेदवारहरू यतिबेला मतदाता भेटघाटमा ब्यस्त छन्। लमजुङमा नेपाली कम्युनिस्ट पार्टी, नेपाली कांग्रेस, एमाले र रास्वपा प्रमुख प्रतिस्पर्धामा देखिएका छन् ।

नेकपाबाट हरिजङ तामाङ, कांग्रेसका गमप्रसाद गुरूङ, एमालेका पुर्वमन्त्री पृथ्वीसुब्बा गुरूङ र रास्वपाका धर्म केसीलगायत १२ जना चुनावी मैदानमा छन् । नेकपाका उमेदवार हरिजङ तामाङ सबैभन्दा कान्छा र युवा उमेदवार हुन् ।

यतिबेला उनी चुनावी अभियानमा व्यस्त छन् । तर उनको प्रचारशैली भने अन्य प्रतिस्पर्धीभन्दा केही फरक देखिएको छ । उनले अरू उम्मेदवारको आलोचना नगरी आफ्ना एजेन्डा र योजना सार्वजनिक गर्दै मतदातासँग भोट मागिरहेका छन् ।

तामाङले गाउँ-गाउँ पुगेर रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, युवालाई सीपमूलक तालिम, शिक्षा र स्वास्थ्य सेवामा सुधार, तथा सडक पूर्वाधार विस्तारलाई प्राथमिकतामा राखेका छन् ।

“हामी अरूलाई होच्याएर होइन, आफ्ना काम र योजनाका आधारमा जनताको विश्वास जित्न चाहन्छौँ,” उनले एक कार्यक्रममा भने । उनको चुनावी अभियान विशेषगरी युवा र आदिवासी जनजाति समुदायमा केन्द्रित देखिन्छ ।

जिल्लामा उल्लेख्य तामाङ मतदाता रहेको सन्दर्भमा उनले समावेशी विकास र पहिचानको मुद्दालाई पनि जोड दिएका छन् । सामाजिक सञ्जालमार्फत पनि उनले आफ्ना योजनाहरू सार्वजनिक गर्दै मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन् ।

राजनीतिक प्रतिस्पर्धा तीव्र बन्दै गएको लमजुङमा तामाङको सकारात्मक प्रचारशैलीले मतदाताको ध्यान खिचेको स्थानीयहरू बताउँछन् । विपक्षी दलप्रति टिप्पणी नगरी आफ्ना स्पष्ट कार्यक्रम प्रस्तुत गर्नु उनको चुनावी रणनीतिको मुख्य आधार बनेको छ ।

आगामी निर्वाचनमा मतदाताले कस्तो निर्णय गर्छन् भन्ने चासोका बीच हरिजङ तामाङले भने विकास, पारदर्शिता र सुशासनको एजेन्डालाई नै आफ्नो मुख्य चुनावी अस्त्र बनाएका छन् ।

उनलेे चुनावी अभियान र मतदाताकाे घरदैलो भेटघाट कार्यक्रम फागुन ५ गते राइनास नगरपालिकाबाट शुरू गरेर दुधपाेखरी गाउँपालिका, सुन्दरबजार नगरपालिका, मध्यनेपाल नगरपालिका, काेलासाेथर गाउँपालिकाका प्राय सबै वडामा सम्पन्न गरि बेसिशहर नगरपालिका फर्किएका छन् ।

बेसिशहर नगरपालिका उनको घर भएको नगरपालिका पनि हाे । त्यसपछि उनलेे दाेर्दी गाउँपालिका र अन्य छुटेका स्थानमा मतदाता भेटघाट गर्ने कार्यसुचि बनाइएको निर्वाचन परिचालन समितिले जनाएको छ ।