रास्वपा मकवानपुर सभापति भरत पराजुली कांग्रेसमा प्रवेश

रास्वपा मकवानपुर सभापति भरत पराजुली कांग्रेसमा प्रवेश

हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका सभापति भरत पराजुलीले पार्टी परित्याग गरेका छन् । उनी ३० वर्ष राजनीतिक जीवन बेतित गरेको पुरानै घर नेपाली कांग्रेसमा फर्किएका छन् ।

रास्वपा मकवानपुरले आज हेटौंडा उपमहानगरपालिका–४, स्थित हुप्रचौरमा सभा आयोजना गरिरहँदा सभापति पराजुली सर्लाही पुगेर कांग्रेस प्रवेश गरेका हुन् ।

पराजुलीलाई नेपाली कांग्रेस सभापति गगनकुमार थापाले सर्लाहीमा कांग्रेस प्रवेश गराएका छन् । पराजुलीसहित रास्वपा मकवानपुरका नेताहरू आइतबार राति नै सर्लाही पुगेका थिए ।

कांग्रेस सभापति थापासँगको भेटपछि पराजुलीले पार्टी नेतृत्व शैलीमाथि प्रश्न उठाउँदै पार्टी परित्याग गरेको समाजिक सञ्जाल मार्फत घोषणा गरेका छन्।

‘समय क्रममा पार्टीभित्र देखिएका प्रवृत्तिहरूले मलाई गम्भीर रूपमा सोच्न बाध्य बनायो । हामीले जुन उद्देश्य, मूल्य र आदर्शका साथ पार्टीलाई बुझेका थियौं, व्यवहारमा त्यसको ठीक विपरीत अवस्था विकसित हुँदै गएको महसुस भयो,’ पराजुलीले भने, ‘सीमित व्यक्तिहरूको प्रभाव, चाकरीवाद, आलोचनालाई अस्वीकार गर्ने संस्कार तथा आन्तरिक लोकतन्त्र कमजोर हुँदै गएको अवस्थाले निराश बनायो ।’