काठमाडौं । रूपन्देही ३ मा लगातार दोस्रो उम्मेदवार उम्मेदवारी फिर्ता लिएर एमालेमा प्रवेश गरेका छन् । बाबुराम भट्टराई र जनार्दन शर्मा संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का उम्मेदवारले उम्मेदवारी फिर्ता लिएर एमालेलाई सघाउने भएका हुन् ।
पार्टीले नै आधिकारिक रूपमा एमालेका उम्मेदवार बासुदेव घिमिरेलाई सघाउने निर्णय गरेको हो । यहाँ प्रलोपाका उम्मेदवार गोविन्द प्रसाद काराखेती छन् । यसअघि यही क्षेमा जनता समाजवादी पार्टी नेपालका उम्मेदवार श्रीनिवास यादव पनि एमाले प्रवेश गरेका थिए ।
प्रलोपाले सो क्षेत्रमा घिमिरेलाई मतदान गर्न आफ्ना नेता तथा कार्यकर्ताहरुमा अपिल जारी गरेको छ । पार्टीका क्षेत्रीय इन्चार्ज तथा केन्द्रीय सदस्य रविना भण्डारी र केन्द्रीय सदस्य विमला बिकले संयुक्तरूपमा निर्णय सार्वजनिक गर्दै यस्तो अपिल जारी गरिएको छ ।