दोलखामा अजयबाबुलाई जिताउन ९ वटै पालिकामा जेनजी कमान्डरु नियुक्त

दोलखामा अजयबाबुलाई जिताउन ९ वटै पालिकामा जेनजी कमान्डरु नियुक्त

दोलखा । दोलखामा चुनावी सरगर्मी बढ्दै जाँदा नेपाली कांग्रेसले नयाँ पुस्तालाई लक्षित गर्दै (जेनजी) परिचालन समितिका पालिका संयोजकहरू नियुक्त गरेको छ ।

नेपाली कांग्रेस (जेनजी) परिचालन समिति दोलखाका संयोजक महेन्द्र खड्काले जिल्लाका नौ वटै स्थानीय तहमा सङ्गठन सुदृढीकरण र युवाहरूको प्रभावकारी परिचालनका लागि संयोजकहरूको जिम्मेवारी बाँडफाँट गरेका हुन् ।

मंगलबार एक सूचना जारी गर्दै उनले नवनियुक्त संयोजकलाई आ-आफ्नो कार्यक्षेत्रभित्र युवाहरूको सङ्गठन निर्माण, समन्वय र परिचालन गर्दै पार्टीको नीति तथा आदर्शअनुसार सक्रिय रहन निर्देशन दिएका छन् ।

समितिले भीमेश्वर नगरपालिकाको संयोजकमा सुशील रिजाल र जिरी नगरपालिकामा रमेश खड्कालाई जिम्मेवारी सुम्पेको छ । त्यस्तै कालिन्चोक गाउँपालिकामा रामकृष्ण धामी, मेलुङमा मनोज भण्डारी, बैतेश्वरमा प्रशान्त तामाङ र सैलुङमा अम्बर मोक्तानलाई संयोजक तोकिएको छ ।
तामाकोसी गाउँपालिकाको नेतृत्व सौगात खड्काले सम्हाल्नेछन् भने बिगुमा प्रेम जोर्दे शेर्पा र गौरीशङ्कर गाउँपालिकामा प्रेम तामाङलाई संयोजक नियुक्त गरिएको खड्काले जानकारी दिए ।

यसअघि दोलखाबाट सङ्घीय संसद्का लागि स्वतन्त्र उम्मेदवारी दिएका (जेनजी) पुस्ताका अगुवा महेन्द्र खड्काले आफ्नो उम्मेदवारी फिर्ता लिएर कांग्रेसका उम्मेदवार अजयबाबु शिवाकोटीलाई समर्थन गरेका थिए । उनकै नेतृत्वमा अहिले जिल्लाभर युवा परिचालनको काम अघि बढाइएको हो ।
अनुभवी र प्रस्ट भिजन भएका व्यक्तिलाई समर्थन गर्दा मात्र समाजमा वास्तविक परिवर्तन आउने विश्वासका साथ आफूले उम्मेदवारी स्थगन गरेर शिवाकोटीको चुनावी अभियानमा होमिएको खड्काले बताए ।

उनले आजको समयमा भावनामा बहकिएर भन्दा पनि ठोस नतिजा दिन सक्ने नेतृत्वलाई साथ दिनु आवश्यक रहेकोमा जोड दिएका छन् । शिवाकोटी जस्तो बौद्धिक र जुझारु व्यक्तित्वले संसद्मा दोलखाको आवाजलाई प्रभावशाली ढङ्गले बुलन्द पार्न सक्ने खड्काको ठम्याइ छ ।