काठमाडौं । अमेरिका र इरानबीच बढ्दो तनावका कारण नेपाल सरकारले इरानमा रहेका नेपाली नागरिकलाई जतिसक्दो चाँडो स्वदेश फर्किन आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले आइतबार ‘ट्राभल एड्भाइजरी’ जारी गर्दै हाल इरान भ्रमणको योजना बनाइरहेकालाई यात्रा स्थगित गर्न सल्लाह दिएको हो । मन्त्रालयले पछिल्लो सुरक्षा अवस्थालाई ध्यानमा राख्दै इरानको अवस्था सामान्य नहुन्जेलसम्म त्यहाँ भ्रमण नगर्न अनुरोध गरेको छ । साथै, हाल इरानमा रहेका नेपाली नागरिकलाई सकेसम्म छिटो सुरक्षित स्थानतर्फ सर्न वा देश छोड्न परामर्श दिइएको छ ।
परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो विकासक्रमलाई मध्यनजर गर्दै इरान भ्रमण गर्ने योजना स्थगित गर्न सल्लाह दिइन्छ । हाल इरानमा रहेका नेपाली नागरिकलाई सम्भव भएसम्म छिटो इरान छोड्न अनुरोध गरिन्छ ।’ मन्त्रालयले त्यहाँ रहेका नेपालीलाई पासपोर्ट, परिचयपत्र लगायतका महत्वपूर्ण कागजातहरू सधैँ सहजै भेटिने सुरक्षित स्थानमा राख्न पनि आग्रह गरेको छ । आपतकालीन अवस्थामा सहयोग र समन्वयका लागि नेपालस्थित परराष्ट्र मन्त्रालय तथा कतारस्थित नेपाली दूतावाससँग नियमित सम्पर्कमा रहन अनुरोध गरिएको छ ।
इरानमा कति नेपाली नागरिक रहेका छन् भन्ने यकिन तथ्यांक भने सरकारसँग उपलब्ध छैन । परराष्ट्र मन्त्रालयले सम्भावित जोखिमलाई ध्यानमा राख्दै सतर्कता अपनाउन सबै नेपाली नागरिकलाई आग्रह गरेको छ ।