कञ्चनपुर। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा राजनीतिक दलहरूले आफ्नो सांगठनिक उपस्थिति र प्रचार अभियानलाई वडा तहसम्म विस्तार गरेका छन्।
युवा मतदातालाई लक्षित गर्दै दलहरूबीच प्रतिस्पर्धा तीव्र बन्दै गएको छ। मुख्य प्रतिस्पर्धी दलहरूले सम्पर्क कार्यालय स्थापना, वडा संयोजकको नियुक्ति तथा घरदैलो अभियानलाई तीव्र बनाएसँगै चुनावी माहोल थप उत्साहजनक बनेको छ।
नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) , राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत प्रमुख दलहरूले तीनवटै निर्वाचन क्षेत्रअन्तर्गत रहेका नौ स्थानीय तहका ९२ वटै वडामा सम्पर्क कार्यालय खोलेर प्रचारप्रसारलाई तीव्र पारेका छन्।
नेपाली कांग्रेस निर्वाचन क्षेत्र नं २ (२) का सभापति करनसिंह ऐरका अनुसार तीनवटै निर्वाचन क्षेत्रका वडा तहमा प्रचारप्रसार कार्यालय उद्घाटन गरी अभियान अघि बढाइएको छ। चुनावी अभियानलाई तल्लो तहसम्म व्यवस्थित बनाउन महासमिति सदस्यदेखि तरुण दल र क्रियाशील सदस्यहरूलाई परिचालन गरिएको छ।
कांग्रेसका तर्फबाट निर्वाचन क्षेत्र नं १ मा गोपिप्रसाद उपाध्याय, निर्वाचन क्षेत्र नं २ मा पूर्वमन्त्री एनपी साउद र निर्वाचन क्षेत्र नं ३ मा हरिप्रसाद बोहरा उम्मेदवार रहेका छन्।
नेकपाले पनि वडागत संयन्त्र र प्रचारप्रसार कार्यालय स्थापना गरी अभियानलाई तीव्र बनाएको प्रचारप्रसार उपसमितिका संयोजक महेशदत्त जोशीले जानकारी दिए। नेकपाका तर्फबाट निर्वाचन क्षेत्र नं १ मा पूर्वमन्त्री बिना मगर, निर्वाचन क्षेत्र नं २ मा माधवप्रसाद पन्त र निर्वाचन क्षेत्र नं ३ मा मानबहादुर सुनार उम्मेदवार रहेका छन्।
त्यसैगरी, नेकपा (एमाले)ले पनि वडा तहसम्म चुनावी संयन्त्र गठन विस्तार गरी प्रचारप्रसार अघि बढाएको छ। एमाले जिल्ला सदस्य जगतबहादुर सिंहका अनुसार उम्मेदवारलाई जिताउन कार्यकर्तालाई जिम्मेवारीसहित परिचालन गरिएको छ। एमालेका तर्फबाट निर्वाचन क्षेत्र नं १ मा तारा लामा तामाङ, निर्वाचन क्षेत्र नं २ मा बचनबहादुर सिंह र निर्वाचन क्षेत्र नं ३ मा डा दीपकप्रकाश भट्ट उम्मेदवार रहेका छन्।
तीनवटै निर्वाचन क्षेत्रमा मुख्य राजनीतिक दलहरू र नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। रास्वपाले उम्मेदवारसहितको घरदैलो अभियानलाई निरन्तरता दिँदै युवाहरूलाई संगठित गरेर प्रचारप्रसारलाई तीव्र बनाएको छ।
रास्वपाका तर्फबाट निर्वाचन क्षेत्र नं १ मा जनकसिंह धामी, निर्वाचन क्षेत्र नं २ मा दीपकराज बोहरा र निर्वाचन क्षेत्र नं ३ मा ज्ञानेन्द्रसिंह महता उम्मेदवार रहेका छन्।
त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भने वडावडामा मतदातासँग समूहगत अन्तक्र्रिया तथा छलफल गर्दै चुनावी एजेन्डा प्रस्तुत गरिरहेको छ। अन्य राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले पनि घरदैलो अभियानलाई अगाडि बढाएका छन्।
यसपटकको निर्वाचनमा सबै राजनीतिक दलहरूको मुख्य ध्यान युवा मतदातातर्फ केन्द्रित देखिएको छ। बेरोजगारी समस्या समाधान, गुणस्तरीय शिक्षा र सूचना प्रविधिमा आधारित विकासका एजेन्डा प्रस्तुत गर्दै उम्मेदवारहरूले युवालाई आकर्षित गर्ने प्रयास गरिरहेका छन्।
“युवा परिवर्तन चाहन्छन्, त्यसैले हाम्रो प्राथमिकता उनीहरूको भविष्यसँग जोडिएका योजनामा केन्द्रित छ”, नेकपा निर्वाचन क्षेत्र नं २ का उम्मेदवार माधवप्रसाद पन्तले भने, “आफू पनि युवा भएकाले युवाका मागलाई शिरोधार्य गर्दै अघि बढिरहेका छौं।”
चुनावी सरगर्मी बढेसँगै कञ्चनपुरका चोक-चौतारीमा उम्मेदवारको व्यक्तित्व र एजेन्डाबारे बहस सुरु भएको छ। वडा तहमा स्थापना गरिएका सम्पर्क कार्यालयले मतदातालाई उम्मेदवारसँग सिधा संवाद गर्ने वातावरण बनाएको स्थानीय मतदाताको भनाइ छ।
जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कुल ५५ जना उम्मेदवार चुनावी मैदानमा छन्। तीमध्ये ४४ जना विभिन्न राजनीतिक दलका तर्फबाट र ११ जना स्वतन्त्र उम्मेदवार छन्।