रामेछापमा तीन स्वतन्त्रसहित १७ जना चुनावी मैदानमा

रामेछापमा तीन स्वतन्त्रसहित १७ जना चुनावी मैदानमा

काठमाडौं। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि रामेछापबाट तीन स्वतन्त्रसहित १७ जना चुनावी मैदानमा रहेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली कांग्रेसबाट रामचन्द्र खड्का, नेकपा (एमाले) बाट माधव ढुङ्गेल, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट श्याम कुमार श्रेष्ठ ‘कुशल’, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट डा.कृष्णहरि बुढाथोकी उम्मेदवार रहेका छन् ।

त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट गोरे तामाङ, उज्यालो नेपाल पार्टी (उनेपा) बाट दीपबहादुर योन्जन, श्रम संस्कृति पार्टीबाट ढालबहादुर खपाङ्गी मगर, प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट वीरेन्द्र श्रेष्ठ, नेशनल रिपब्लिक नेपाल पार्टीबाट यमबहादुर मोक्तान, मंगोल नेशनल अर्गनाइजेसनबाट विनोद घिसिङ, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट यमनबहादुर बस्नेतले उम्मेदावरी दिएका छन् ।

राष्ट्रिय जनमोर्चाबाट अर्जुनबहादुर थापा मगर, नेपाल मजदुर किसान पार्टीबाट केशरी श्रेष्ठ र आम जनता पार्टी (एकल चुनाव चिन्ह) को तर्फबाट पदमबहादुर तामाङले उम्मेदवारी दर्ता गराएका छन् । स्वतन्त्र उम्मेदवारमा अरुण कार्की, बाबुकाजी खड्का र सन्तोष घिमिरे रहेका छन् ।

रामेछापबाट १७ जनाले उम्मेदवारी दर्ता गराए पनि मुख्य प्रतिस्पर्धीको रुपमा कांग्रेसका खड्का, एमालेका ढुङ्गेल, नेकपाका श्रेष्ठ र रास्वपाका डा.बुढाथोकीलाई हेरिएको छ । रामेछापमा गत २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मत हेर्ने हो भने एमालेको मत २८ हजार १ सय ५० सबैभन्दा बढी रहेको छ । त्यसैगरी कांग्रेसको २४ हजार १ सय १, (तत्कालीन माओवादी केन्द्र र एकीकृत समाजवादीसहित) नेकपाको २२ हजार ४ सय २ रहेको छ । रास्वपाले भने गत ०७९ को निर्वाचनमा ४ हजार ६ सय २३ समानुपातिक मत पाएको थियो ।

अहिले रामेछापमा यी ४ उम्मेदवारमध्ये पनि मुख्य प्रतिस्पर्धीको रुपमा एमालेका ढुङ्गेल र नेकपाका श्रेष्ठलाई हेरिएको छ । ०७९ को निर्वाचनको समानुपातिक मतलाई हेर्ने हो भने श्रेष्ठभन्दा ढुङ्गेल झण्डै साढे ५ हजार मतले अगाडि छन् । रामेछाप कांग्रेसभित्र रहेको आन्तरिक किचलोका कारण आसन्न निर्वाचन जित्न उम्मेदवार खड्कालाई निकै सकस हुने अनुमान गरिएको छ ।