चुनावी प्रतिस्पर्धाबाट ब्याक भए बाबुराम, उम्मेदवारी फिर्ता

चुनावी प्रतिस्पर्धाबाट ब्याक भए बाबुराम, उम्मेदवारी फिर्ता

काठमाडौं। प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट गोरखा निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गराएका डा.बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिने बताएका छन् । आज (शुक्रबार) उनले आफूले मनोनयन फिर्ता लिने बताएका हुन् ।

‘संसदीय निर्वाचनमा सहभागी भएर सांसद मात्रै रहेर रहनुभन्दा सबै साथीहरुको आग्रहबमोजिम मैले बाहिर रहेर नै दलहरुलाई सघाउने र भोलि आवश्यक पर्दा अभिभावकीय भूमिका निर्वाह गर्नु उपयुक्त हुन्छ भन्ने ठानेर मनोनयन फिर्ता लिने निर्णय गरेको छु,’– भिडिओ सन्देश जारी गर्दै उनले भनेका छन् ।

आगामी दिनमा अग्रगामी सोच राख्ने राजनीतिक दल, समूह र व्यक्तिले चाहेअनुसार नै सहयोग गर्ने, समाज र देशको निम्ति निरन्तर लागिरहने पनि उनले प्रतिवद्धता व्यक्त गरेका छन् ।

डा.भट्टराईले आज (शुक्रबार) विहान नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर चुनावमा सघाउन आग्रह गरेका थिए । प्रचण्डको सहयोग नपाउने भएपछि उनी उम्मेदवारी फिर्ता लिने निर्णयमा पुगेका हुन् ।