काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सल्यानमा युवा नेता रमेश मल्ललाई प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवार बनाएको छ। नेकपाले सो क्षेत्रका दुई पूर्वमन्त्रीलाई छाडेर अखिल (क्रान्तिकारी) का पूर्व अध्यक्ष मल्ललाई टिकट दिएको हो।
मल्ल पहिलोपटक प्रतिनिधिसभा सदस्य चुनाव लड्न लागेका हुन्। गत प्रतिनिधिसभा सदस्य निर्वाचनमा सो क्षेत्रबाट प्रकाश ज्वालाले चुनाव जितेका थिए। ज्वालाले दाबी छोडेपछि यस पटक मल्लले टिकट पाएका हुन्।
मल्लले टिकट पाएसँगै यसअघि सो क्षेत्रबाट चुनाव जितेका ज्वालाले शुभकामना दिएका छन्। ज्वालाले भनेका छन्, ‘यसपटक सल्यानले नयाँ अनुहार र युवा नेतालाई उम्मेदवारको रूपमा पाएको छ। कमरेड रमेश मल्ललाई हार्दिक बधाईसहित विजयको शुभकामना।’
ज्वालाले निर्वाचनमा पार्टीलाई जिताउन सकृयतापूर्वक लाग्न पार्टी पंक्ति, समर्थक, शुभचिन्तक तथा आम मतदातासँग अपिल पनि गरेका छन्।