रास्वपाले डा.भट्टराईलाई भन्योः ‘हाम्रो अभिभावक तपाईँ’, गोरखा २ मा चुनावी तालमेलको सम्भावना

रास्वपाले डा.भट्टराईलाई भन्योः ‘हाम्रो अभिभावक तपाईँ’, गोरखा २ मा चुनावी तालमेलको सम्भावना

काठमाडौं। पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले आफूले कहिल्यै पनि सत्तामुखी राजनीति नगरेको बताएका छन्। गोरखा बजारमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले आफूले रुपान्तरणकारी र सेवाको राजनीति गरेको बताएका हुन्। आवश्यक पर्दाखेरी आफूले जुनसुकै अवस्थामा पनि राजनीतिक योगदान गर्ने उनले बताए।

पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई गोरखा क्षेत्र नम्बर २ मा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट प्रतिनिधिसभा सदस्य चुनाव लड्ने घोषणा गरेका छन्। उनले कर्तव्यबोधले आफूलाई जोखिमपूर्ण निर्वाचन लड्न बाध्य बनाएको पनि बताए। उनले आफ्नो हार जित ठूलो कुरा नरहेको बताए। जुनसुकै दलमा भए पनि गोरखाली जनताले मत दिनेमा आफू विश्वस्त रहेको उनले बताए।

नेता डा.भट्टराईले आफूलाई गोखरा २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सहयोग पनि रहन सक्ने बताए। रास्वपाका नेताहरुले ‘हाम्रो अभिभावक तपाईँ हो’ भन्दै आएको पनि उनले सुनाए।

सहयोगबारे पछिल्लो समय रास्वपाका नेताहरुसँग कुरा भने नभएको उनको भनाइ छ। ‘रास्वपाका साथीहरुले हाम्रो अभिभावक तपाईँ नै हो भन्ने गर्नुहुन्थ्यो। तपाईँजस्तो अभिभावक प्रतिनिधिसभामा हुनुपर्छ भन्ने कुरा गर्नुभएको छ। मलाई त सबै पक्षका साथीहरुले सहयोग गर्नुहुन्छ जस्तो लाग्छ,’ उनले भने।