प्रतिनिधिसभा चुनाव नजिकिएसँगै राजनीतिक धुव्रीकरण तीव्र

प्रतिनिधिसभा चुनाव नजिकिएसँगै राजनीतिक धुव्रीकरण तीव्र

काठमाडौं। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरूबीचको धु्रवीकरणले थप तीव्रता पाएको छ । चुनावको मुखैमा मुलुकको सबैभन्दा पुरानो र लोकतान्त्रिक दल नेपाली कांग्रेस विभाजन भएको छ । महाधिवेशनको विषयमा भएको विभाजनले कांग्रेस पार्टी इतिहासमै तेस्रोपटक विभाजन हुन पुगेको हो । पार्टी निर्णयविपरीत विशेष महाधिवेशन गरेको भन्दै केन्द्रीय समिति बैठकले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई पाँच वर्षको लागि पार्टीबाट निष्कासन गरेपछि कांग्रेस फुटेको हो ।

पार्टी सभापति शेरबहादुर देउवाको कार्यकारी भूमिकाबाट नअलग्गिने अडान र विशेष महाधिवेशन पक्षधरहरूको नेतृत्व हस्तान्तरणको मुद्दा पार्टी विभाजनको कारण बन्न पुगेको छ । विघटित संसद्को दोस्रो ठूलो दल नेकपा एमाले भने निर्वाचनको मुखमै महाधिवेशन सम्पन्न गरेर चुनावको तयारीमा जुटेको छ । गत भदौ २३ र २४ गते भएको ‘जेन-जी’ विद्रोहपछि विभिन्न १६ वटा कम्युनिष्ट घटक र समूहबीच एकीकरण बनेर गठन भएको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) भने धु्रवीकरणकै अभियानमा छ । बुधबार मात्रै राष्ट्रिय मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष सुमन सायमीसहितको समूह नेकपामा समाहित भएको छ । राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा नेकपा संयोजक पुष्पकमल दाहाल र सह-संयोजक माधवकुमार नेपालले सायमीलाई पार्टीमा स्वागत गरेका छन् । सायमी अघिल्लोपटक काठमाडौं-८ बाट चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए।

उनले गत स्थानीय तह निर्वाचनमा पनि काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गरेका थिए। यसपटक पनि सायमी काठमाडौं-८ बाट चुनावी प्रतिस्पर्धामा उत्रिने तयारीमा रहेका छन्। गुठी आन्दोलनका अगुवासमेत रहेका सायमी केही समयअघि राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीमा प्रवेश गरेका थिए। नेकपा र सायमी नेतृत्वको समूहबीच ६ बुँदे सहमति भएको छ । सहमति पत्रमा भनिएको छ, गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समिति, सहकारीपीडित संघर्ष समिति, पहिचान पक्षधर आन्दोलन, गुठी आन्दोलनलगायत न्याय, अधिकार र पहिचानका पक्षमा उठेका जनआन्दोलनहरूको मर्म, भावना र मागलाई आत्मसात् गर्दै, ती आन्दोलनहरूसँग ऐक्यबद्धता र राजनीतिक एकतामार्फत समाधान खोज्नु आजको ऐतिहासिक आवश्यकता भएकोमा दुवै पार्टीबीच स्पष्ट समझदारी कायम भएको छ ।’

केही साताअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबीच एकता भएको थियो । मंगलबार दलित बचाउ अभियानका अभियन्ता खगेन्द्र सुनार रास्वपामा प्रवेश गरेका छन् । यसअघि मंगलबार राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल नागरिक पार्टी र नेपाल हाउस पार्टीबीच पार्टी एकीकरण भएको थियो । एकीकरणपछि नयाँ पार्टीले राष्ट्रिय प्रजातन्त्र पार्टीकै नाम, झण्डा र चुनाव चिह्न कायम राख्ने सहमति छ । एकीकरणले राष्ट्रवादी शक्तिहरूलाई एकीकृत गर्दै आगामी निर्वाचनमा बलियो उपस्थिति जनाउने अपेक्षा गरिएको नेताहरूले दाबी गरेका छन् ।
एकीकृत पार्टीले हिन्दूराष्ट्र, संवैधानिक राजतन्त्र र सुशासनलाई मुख्य एजेण्डा बनाउने जनाइएको छ । केही दिनअघि राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबीच एकता भएको थियो । आमजनता पार्टी (आजपा) ले मंगलबार एकैदिन दुई राजनीतिक दलसँग पार्टी एकीकरण गरेको छ । रामकुमार महतो नेतृत्वको नेपाल सदभावना पार्टी (नेसपा) र इमदाद गद्दी नेतृत्वको जनअधिकार पार्टी नेपालसँग औपचारिक रूपमा एकीकरण गरेको हो ।

यसअघि आजपाले जनादेश पार्टी, लघुवित्तपीडित संघर्ष समिति, सहकारी पीडितका लागि संघर्षरत समितिहरूसँग चुनावी सहमति तथा गठबन्धन गरिसकेको छ । यस्तै, नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) र नेपाल कम्युनिष्ट पार्टी (वामपन्थी केन्द्र) बीच पार्टी एकता भएको छ । नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसाल र नेकपा वामपन्थी केन्द्रका संयोजक राजकुमार कक्षपतिबीच पार्टी एकताका ११ वटा आधार बनाएर एकता घोषणा गरिएको हो । माक्र्सवाद–लेनिनवाद तथा मानव जातिले प्राप्त गरेका स्वतन्त्रता र मुक्तिका मूल्यहरूको मार्गदर्शनमा कम्युनिष्ट आन्दोलनको अभ्यास र विकास गर्दै वैज्ञानिक समाजवादको ध्येयमा अगाडि बढ्ने एकताको आधारपत्रमा उल्लेख छ ।