काठमाडौं । सभामुख देवराज घिमिरेले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि देशको संविधान नै लिकभन्दा बाहिर गएको बताएका छन्।
झापा २ मा पत्रकार सम्मेलन गरेर जेनजी आन्दोलन र विध्वंसले देशको मानवीयसँगै खर्बौँको सरकारी एवम् निजी भौतिक संरचना मात्र ध्वस्त भएन, व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका समेत ध्वस्त भएको बताए।
उनले भने, ‘यो विषम परिस्थितिमा संविधानलाई लिकमा चढाएर हिँडाउनु हामी सबैको दायित्व हो । यसका लागि २ वटा विकल्पहरू अहिले हाम्रो सामु देखिएका छन् । पहिलो, संसद् पुनर्स्थापना गरेर तत्कालीन आन्दोलनकारीका जायज मागहरू कानुन संशोधन मार्फत पूरा गर्दै निर्वाचनमा जाने र दोस्रो, अहिल्यै निर्वाचनमा जाने र नयाँ जनादेश लिने ।’
उनले यी २ मध्ये पहिलो विकल्प उपयुक्त हुने ठानेको भन्दै सर्वोच्च अदालतमा विचाराधीन रहेकाले छिटो फैसलाको अपेक्षा राखे।
उनले भने, ‘अहिले सरकारले निर्वाचन गराउन कार्यतालिका सार्वजनिक गरिसकेको अवस्थामा निर्वाचन हुन्छ/हुन्न भन्ने अन्योलका बीचमा पनि यसको तालिका अनुसार तयारी गर्दै जानु नै पर्ने हुन्छ । त्यसैले कार्यतालिका र कानुन अनुसार सभामुखको कार्यकाल आगामी माघ ५ गते (अर्को निर्वाचनका लागि मनोनयन दाखिला गर्ने अघिल्लो दिन) सकिँदै छ । यदि चुनाव भएन भने के हुन्छ भन्ने बारेमा आ-आफ्नै तर्कहरू छन्, कानुनमा स्पष्ट उल्लेख छैन ।’
आफ्नो छोटो कार्यकालको अवधिमा ५ वटा फरक-फरक सरकारसँग काम गर्नु परेकाले आफूलाई खुसी नलागेको बताए।