काठमाडौं। नेपाली कांग्रेस संस्थापन पक्षले विशेष महाधिवेशनको औचित्य सकिएको निष्कर्ष निकालेको छ । आज (आइतबार) सभापति शेरबहादुर देउवाले बोलाएको संस्थापन पक्षका पदाधिकारी तथा पूर्व प्रदाधिकारीहरुको बैठकले विशेष महाधिवेशनको औचित्य सकिएको निष्कर्ष निकालेको हो ।
देउवा निवास महाराजगञ्जमा आज बसेको बैठकले नियमित महाधिवेशनको मिति तय भइसकेको अवस्थामा विशेष महाधिवेशनको माग गर्नुको कुनै औचित्य नरहेको निष्कर्ष निकालेको हो । बैठकको निष्कर्ष सुनाउँदै नेता विमलेन्द्र निधिले भने, ‘विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको छ । नेता तथा कार्यकर्तालाई निर्वाचनमा होमिन आह्वान गर्ने निर्णय भएको छ ।’
नेता निधिले देशभरबाट सबै महाधिवेशन प्रतिनिधिहरु काठमाडौं आइरहन जरुरत नरहेको बताए । उनले बैठकले देशभरका नेता तथा कार्यकर्तालाई आसन्न प्रतिनिधिसभाको निर्वाचनको तयारीमा होमिनका लागि आग्रह गर्ने निर्णय गरेको पनि बताए ।