भदौ २३–२४ घटनाबारे जाँचबुझ आयोगद्वारा देउवा र प्रचण्डलाई पत्र

भदौ २३–२४ घटनाबारे जाँचबुझ आयोगद्वारा देउवा र प्रचण्डलाई  पत्र

काठमाडौँ । भदौ २३ र २४ गते देशभर भएका घटनाको जाँचबुझका लागि गठित आयोगले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड’ लाई आफ्नो धारणा राखिदिन पत्र पठाएको छ।

आयोग स्रोतका अनुसार, दुवै नेतासँग उक्त घटनासँग सम्बन्धित विवरण माग गरिएको हो।

भदौ २४ गते देशव्यापी प्रदर्शनका क्रममा विभिन्न स्थानमा आगजनी र तोडफोड भएको थियो। सो दिन देउवा आफ्नै बूढानिलकण्ठस्थित निवासमा रहेका बेला अनियन्त्रित भीडले प्रहरीको सुरक्षा घेरा छिचोल्दै घरभित्र प्रवेश गरेको थियो। त्यसक्रममा देउवा र पत्नी आरजु राणा माथि कुटपिटसमेत भएको थियो। पछि नेपाली सेनाले दुवै जनाको उद्धार गरेको थियो।

त्यसै दिन प्रचण्ड सिंहदरबारभित्र रहेका बेला स्थिति असहज बनेपछि सेनाले उहाँलाई पनि उद्धार गरेको थियो। घटनाका क्रममा दुवै नेताका घरमा आगजनी तथा तोडफोड भएको आयोगले जनाएको छ।

आयोगले अब तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली को बयान लिने तयारी गरिरहेको छ। बयानका लागि पत्र पठाउने तयारी भइरहेको भए पनि ओलीले बयान दिन नआउने बताउँदै आउनु भएको छ। यद्यप,ि आवश्यक परे आयोगका पदाधिकारी स्वयं उपस्थित भएर पनि बयान लिन सक्ने स्रोतले जनाएको छ। बयानको मिति भने अझै तय भएको छैन।

यसबीच आयोगले घटनासँग सम्बन्धित १५० भन्दा बढी व्यक्तिहरूको बयान र कागजात संकलन गरिसकेको छ। केही दिनअघि मात्रै तत्कालीन गृहमन्त्री रमेश लेखक को बयान लिइएको थियो।