काठमाडौं । नेपाली कांग्रेसले प्रथम राष्ट्रपति र बहालवाला राष्ट्रपतिका छोरा–छोरीलाई प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवार बनाएको छ ।
कांग्रेसले प्रथम राष्ट्रपति डा. रामवरण यादवका छोरा र हालका राष्ट्रपति रामचन्द्र पौडेलकी छोरीलाई समानुपातिकतर्फको उम्मेदवार बनाएको हो ।
कांग्रेसले मंगलबार निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा प्रथम राष्ट्रपति यादवका छोरा डा. चन्द्रमोहन यादव र वर्तमान राष्ट्रपति पौडेलकी छोरी संज्ञा पोखरेल पौडेलको नाम उल्लेख छ ।
कांग्रेसले केन्द्रीय सदस्य बलबहादुर केसीकी श्रीमती रिना उप्रेतीलाई पनि समाुनपातिकतर्फको उम्मेदवार बनाएको छ । बन्दसूचीमा नेपाल तरुण दलका पूर्वअध्यक्ष विनोदप्रकाश कायस्थको नाम पनि समावेश छ ।
कांग्रेसले बन्दसूचीका लागि आयोगमा पेस गरेको ‘कभर लेटर’ मा पहिलो नम्बरमा सहमहामन्त्री भीष्मराज आङ्दम्बेको नाम उल्लेख गरिएको छ ।