काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जाँचबुझ आयोगसमक्ष आफ्नो लिखित जवाफ पठाउन तयार भएका छन्। तर, आयोगको सचिवालयमा प्रत्यक्ष रूपमा उपस्थित भएर बयान दिने पक्षमा भने उनी नरहेको बताइएको छ।
नेकपा एमाले र जाँचबुझ आयोगसँग सम्बद्ध स्रोतका अनुसार ओलीले सिंहदरबारस्थित आयोगमा गएर बयान नदिए पनि कुनै न कुनै माध्यमबाट आफ्नो भनाइ आयोगलाई उपलब्ध गराउने सहमति जनाएका हुन्।
एमालेका उच्च स्रोतका अनुसार यस विषयमा शीर्ष राजनीतिक तहमा करिब सहमति भइसकेको छ।
स्रोतका अनुसार, “बयान दिन भनेर कतै जानु हुँदैन भन्ने अडान छ, तर आयोगका प्रतिनिधिहरूले आवश्यक ठानेमा उनीहरू आफैं आएर कुरा गर्न सक्ने व्यवस्था हुन सक्छ।”
यसअघि आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले सार्वजनिक रूपमा आफ्नो दृष्टिकोण व्यक्त गरिसकेकाले आयोगको विश्वसनीयतामाथि प्रश्न उठेको भन्दै पूर्वप्रधानमन्त्री ओलीले आयोगमा आफ्नो भनाइ नै नराख्ने अडान लिएका थिए। तर, कार्कीलाई पदमुक्त गर्नुपर्ने मागसहित दायर रिट निवेदनलाई गत साता खारेज गर्दै सर्वोच्च अदालतले आयोगलाई वैधता दिएको थियो।
स्रोतका अनुसार ‘बयान, स्थान हद फुकुवा, ओलीसहित नेताहरूलाई पुनः सुरक्षाकर्मी उपलब्ध गराउने’ जस्ता विषयहरूलाई चुनावी प्याकेजको रूपमा टुंग्याउने तयारी पनि भइरहेको छ।
उता, जाँचबुझ आयोगसम्बद्ध स्रोतले समेत पूर्वप्रधानमन्त्री ओली आयोगमा आफ्नो भनाइ वा जवाफ राख्न तयार भएको पुष्टि गरेको छ।