काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचन नलड्ने घोषणा गरेका छन्। बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा शर्माले आगामी निर्वाचनमा आफू उम्मेदवार नहुने घोषणा गरेका हुन्।
पार्टीले शर्मालाई झापा–१ बाट सर्वसम्मत रुपमा सिफारिस गरेको थियो। तर, उनले आफूलाई सिफारिस गरेकोमा धन्यवाद दिँदै आफू निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका हुन्।
‘लगातार ३ पटकसम्म उम्मेदवार बनिसकेकाले यो पटक उम्मेदवार बन्दिन भनेर झापाको मेरो क्षेत्रका साथीहरूलाई भनिसकेको छु। गत चुनावमा म आफ्नो क्षेत्रमा सीमित थिएँ, अबको चुनावमा देशव्यापी रुपमा पार्टीका उम्मेदवारहरुको साथमा पुग्नेछु’शर्माले भनेका छन्।
उनले अबको चुनावमा अनुहार बदलेर बढीभन्दा बढी युवा र नयाँ अनुहारलाई कांग्रेसले अवसर दिनुपर्ने पनि बताएका छन्।