बालेन र रबिबीच भेटवार्ता

बालेन र रबिबीच भेटवार्ता

काठमाडौं। काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएकाे छ।

भेटमा रास्वपाका उपसभापति डिपी अर्याल पनि सहभागी रहेको जनाइएको छ। स्रोतका अनुसार रास्वपा नेता असिम शाहको कमलपोखरीस्थित निवासमा दुवै नेताबीच वान–टु–वान छलफल भएको छ।

भेटवार्तामा समसामयिक राजनीतिक अवस्था र भावी योजनाका विषयमा केन्द्रित रहेर छलफल भइरहेको बताइएको छ।

शनिबार जेलमुक्त भएपछि सभापति लामिछानेले राजनीतिक गतिविधि तथा भेटघाटलाई तीव्रता दिँदै आएका छन्।

यसैबीच, मेयर शाहले भदौ २३ र २४ गते जेन–जी आन्दोलनका क्रममा भएका घटनाबारे सोमबार राष्ट्रिय मानवअधिकार आयोगमा उपस्थित भई बयान दिएका छन्। आयोग स्रोतका अनुसार ती दुई दिन सामाजिक सञ्जालमा लेखिएका स्ट्याटसदेखि घटनाक्रम अवधिभर मेयर शाहको गतिविधिबारे सोधपुछ गरिएको थियो।