काठमाडौं। नेकपा एमालेको नयाँ नेतृत्व पङ्तिमा अध्यक्ष केपी शर्मा ओली उमेरले पनि सबैभन्दा जेठा रहेका छन्। उनी ७४ वर्षका भए। ओलीका प्रतिस्पर्धी ईश्वर पोखरेल ७२ वर्षका हुन्। महासचिवका दुई प्रतिस्पर्धीहरू भने तुलनात्मकरूपमा कम उमेरका थिए। ६३ वर्षीय शंकर पोखरेल विजयी बन्दा ६७ वर्षीय सुरेन्द्र पाण्डे पराजित भए।
एमालेको नयाँ पदाधिकारी टीममा अधिकांश ६० वर्षभन्दा माथिकै नेताहरूको बाहुल्यता छ। १९ सदस्यीय पदाधिकारीमध्ये ५ जनामात्रै ६० वर्षभन्दा कम उमेरका छन्। जसमध्ये सबैभन्दा कान्छा महेश बस्नेत हुन्। ५१ वर्षीय बस्नेत सचिवमा निर्वाचित भएका छन्।
६० वर्षमुनिका अन्य नेताहरूमा उपमहासचिव योगेश भट्टराई (५९), सचिव पद्मा कुमारी अर्याल (५७), सचिव राजन भट्टराई (५७) र शेरधन राई (५५) रहेका छन्। यस्तै, ७० वर्ष पुगेका नेताहरू दुईजना मात्रै छन्। अध्यक्ष ओली (७४) र उपाध्यक्ष रामबहादुर थापा बादल ७० वर्षका हुन्। अरु पदाधिकारीहरूको उमेर ६० र ७० को बीचमा छ।