काठमाडौं। गृहमन्त्री ओम प्रकाश अर्यालको निर्देशनअनुसार प्रहरी प्रधान कार्यालयले भदौ २४ गतेको जेन–जी आन्दोलनका क्रममा उच्छृङ्खल गतिविधि गरेको आरोपमा पक्राउ परेकाहरूलाई ‘हाजिर जमानी’ मा रिहा गर्न सर्कुलर जारी गरेको छ ।
गृह मन्त्रालय स्रोतका अनुसार जेन–जी आन्दोलनको उच्छृङ्खल गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेकाहरुलाई छाड्न गोप्य सर्कूलर जारी गरिएको हो ।
जेन–जी आन्दोलनको क्रममा तोडफोड, आगलागी र सार्वजनिक सम्पत्ति हानी नोक्सानीमा संलग्न रहेको आरोपमा हालसम्म देशभरमा ८ सय ७२ जना पक्राउ परेका थिए । स्रोतका अनुसार महाराजजञ्ज र कोटेश्वरमा प्रहरीको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेक बाहेकलाई छाड्न सर्कूलर जारी गरिएको हो ।
सरकार र जेन–जी प्रतिनिधिबीच गत मंसिर २४ गते १० बुँदे सम्झौता भएको थियो । उक्त सम्झौतामा आन्दोलनमा सहभागी भएकै कारण फौजदारी मुद्दामा अनुसन्धान वा अभियोजन नगरिने उल्लेख थियो । सरकार र जेन–जी प्रतिनिधिबीच भएको सम्झौताको मर्मअनुरुपका सर्कूलर जारी गरिएको स्रोतले बतायो ।