जाँचबुझ आयोगले आज आईजीपी कार्कीसहित तीन जनाको बयान लिँदै

जाँचबुझ आयोगले आज आईजीपी कार्कीसहित तीन जनाको बयान लिँदै

काठमाडौं । जेनजी आन्दोलनबारे जाँचबुझ गर्न गठित आयोगले आज प्रहरी महानिरीक्षक दानबहादुर कार्कीसँग बयान लिँदैछ । आईजीपी कार्कीसँग बयान लिनका लागि पत्र काटिएको जाँचबुझ आयोगका प्रवक्ता विज्ञानराज शर्माले बताए ।

जेनजी आन्दोलनको पहिलो दिन प्रहरी प्रधान कार्यालयकै मानव स्रोत विभागमा कार्यरत तत्कालीन एआईजी कार्कीलाई २४ गते बिहान काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरिएको थियो ।

जेनजी आन्दोलनका घटनाबारे सोधपुछ गर्न आयोगले आईजीपी कार्कीलाई पनि बोलाएको हो । घटना हुँदा एआईजी रहेका कार्की कात्तिक २७ गतेबाट प्रहरी महानिरीक्षक छन् ।

कार्कीलाई पनि शुक्रबार उपस्थित हुन भनेसँगै शुक्रबार आयोगमा एकसाथ तीन जनासँग सोधपुछ हुने भएको छ । बिहीबारदेखि नै बयान दिन पुगेका तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ र पूर्व गृहसचिव गोकर्णमणी दुवाडीको बयान सकिएकै छैन ।

उनीहरूसँग आज पनि बयान जारी रहने प्रवक्ता शर्माले जानकारी दिए । यी तीन जनाको बयान सकिएपछि पूर्वगृहमन्त्री रमेश लेखक र त्यसपछि पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग बयान लिने आयोगको तयारी छ ।