काठमाडौं। लामो रस्साकस्सीपछि अन्ततः नेपाली कांग्रेस को १५औं महाधिवेशनको मिति टुंगो लागेको छ । डेढ महिनादेखि जारी कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा महाधिवेशन मितिका विषयमा नेताहरू आ–आफ्नै अडानमा अडिग भएपछि टुंगो लाग्न सकेको थिएन । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले आगामी २६ देखि २८ पुसमा १५औं महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेको छ ।
गत २८ असोजदेखि जारी केन्द्रीय कार्यसमितिको बैठक बीचमा रोक्दै निरन्तर चलिरहेको थियो । कांग्रेस ले गाउँ–नगर वडा अधिवेशन १६ पुसमा, गाउँ–नगरपालिका अधिवेशन १७ पुसमा, प्रदेशसभा क्षेत्रीय अधिवेशन १९ पुसमा, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन, एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २१ पुसमा गर्ने भएको छ ।
दुई वा दुईभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २२ पुसमा र प्रदेश अधिवेशन २३ र २४ पुसमा गर्ने कार्यतालिका रहेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् । विभिन्न तहको अधिवेशन सम्पन्न भएपछि १५औं केन्द्रीय अधिवेशन २६ देखि २८ पुसमा काठमाडौंमा गर्ने कांग्रेसले निर्णय गरेको छ ।
बैठकले महाधिवेशन सम्पन्न गर्नका लागि विधान संशोधन मस्यौदा समिति, क्रियाशील सदस्यता केन्द्रीय छानबिन समिति, केन्द्रीय निर्वाचन समितिलाई पूर्णता दिनेलगायतका कार्य सभापति देउवा र कार्यवाहक सभापति खड्काले आवश्यक परामर्श गर्दै गर्ने कांग्रेसले जनाएको छ । महाधिवेशन २१ फागुनको प्रतिनिधिसभा सदस्य निर्वाचनअघि कि पछि भन्ने विवाद कांग्रेस भित्र थियो ।
संस्थापन पक्ष निर्वाचनपछि र संस्थापनइतर पक्ष निर्वाचनअघि नै नियमित महाधिवेशन गर्नुपर्ने अडानमा थियो । निर्वाचनअघि नै नियमित महाधिवेशन गर्न नसके विशेष महाधिवेशन गर्नुपर्ने अर्को प्रस्ताव संस्थापनइतरका नेताहरूको रहेको थियो । यही विवादका बीचमा संस्थापन पक्ष चचिलो भएपछि महाधिवेशन निर्वाचनअघि नै गर्ने विषयमा सहमति जुटेको हो ।
सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिँदै उपचारका लागि सिंगापुर प्रस्थान गरेका थिए । जेनजी आन्दोलनमा कुटिएका देउवा उपचारपछि नेपाल फर्किए पनि पार्टी बैठकमा सहभागी भएनन् । उनले कार्यवाहक सभापति खड्का, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितका नेतालाई पार्टीमा देखिएको विवाद समाधान गर्न आग्रह गर्दै आएका थिए ।
देउवासँग भेटघाट गर्ने नेतालाई ‘तपाईंहरू नै विवाद समाधान गर्नुस्’ भन्दै आएका देउवा अन्ततः आफैं सक्रिय हुँदै महाधिवेशन मिति टुंगो लगाएका हुन् । कांग्रेस केन्द्रीय समितिको बैठकमा महामन्त्री थापाले १६ देखि १९ पुसमा महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेका थिए । त्यसको काउन्टरमा सहमहामन्त्री महेन्द्र यादवले २७ देखि ३० वैशाख २०८३ मा महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरे । यादवको प्रस्तावमा संस्थापन पक्षका नेताहरूको समर्थन थियो भने थापाको प्रस्तावमा संस्थापनइतरका नेताहरूको समर्थन रहेको थियो ।
नेताहरूले यही प्रस्तावमा धारणा राख्दै निर्वाचनअघि र निर्वाचनपछि महाधिवेशन गर्नुपर्नेमा अडान व्यक्त गर्दै आएका थिए । अर्कोतर्फ ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गर्दै विशेष महाधिवेशनको माग गर्दै आएका थिए । नियमित महाधिवेशन गर्न नसके विधानअनुसार विशेष महाधिवेशन गर्नैपर्ने बाध्यताका कारण संस्थापन पक्षबीचको प्रस्ताव गर्दै नियमित महाधिवेशन निर्वाचनअघि नै गर्न सहमत भएको हो ।
बैठकले महाधिवेशनअघि पूरा गर्नुपर्ने सबै तयारी तथा प्रक्रियासम्बन्धी कार्यतालिकासमेत सार्वजनिक गरेको छ । कार्यतालिकामा अधिवेशनको पूर्वतयारी, आवश्यक संगठनात्मक प्रक्रिया, व्यवस्थापन तथा अन्य प्राविधिक कामहरू समेटिएका छन् ।