काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापनपत्र बुझाउने भएको छ । पार्टीको केन्द्रीय कार्यकारिणी समितिको हालै सम्पन्न बैठकले पार्टीले उठाउँदै आएका मुख्य माग र राष्ट्रिय मुद्दाहरु सार्वजनिक गर्दै सङ्घर्षको कार्यक्रम घोषणा गरेबमोजिम बुधबार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन लागिएको पार्टी प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।
त्यसैगरी, जसपा नेपालले मङ्सीर ११ गते देखी १५ गतेसम्म प्रत्येक संसदीय निर्वाचन क्षेत्रका विभिन्न सहर बजारमा विरोध कार्यक्रम, कोणसभा गरी जनपरिचालन गर्ने भएको छ ।
जसपा नेपालले मङ्सीर १९ र २१ गते पार्टीले उठाउँदै आएका माग र मुद्दाहरु अङ्कित प्लेकार्ड, ब्यानरसहित जिल्ला सदरमुकामहरूका जिल्ला प्रशासन कार्यलयहरू अगाडि शान्तिपूर्ण धर्ना कार्यक्रम गर्ने निर्णय गरेको छ भने मंसिर २७ गतेदेखि पौष ४ गतेसम्म जिल्लास्तरीय विरोधसभा÷जनसभा आयोजना गर्ने बताइएको छ।
जसपा नेपालको प्रदेशस्तरीय जनप्रदर्शन एवं विरोधसभाका कार्यक्रमअन्तर्गत पुस १२ गते विराटनगरमा, पुस १४ गते जनकपुर, पुस १५ गते विरगंज, पुस १७ गते भैरहवामा तय गरिएको छ ।
यसका अतिरिक्त अन्य विरोधका कार्यक्रमहरु पार्टीको जिल्ला समिति वा प्रदेश समितिले निर्णय गर्न सक्ने बस्नेतले बताएका छन्।