प्रतिनिधिसभा अविलम्ब पुनर्स्थापना हुन्छ, अर्को बाटो छैनः केपी ओली

प्रतिनिधिसभा अविलम्ब पुनर्स्थापना हुन्छ, अर्को बाटो छैनः केपी ओली

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विघटित प्रतिनिधिसभा अबिलम्ब पुनर्स्थापित हुने बताएका छन् । आज (शनिबार) काठमाडौंमा आयोजित एमालेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले असंवैधानिक र अनाधिकृत ढंगबाट विघटन भएको प्रतिनधिसभा पुनर्स्थापनाको विकल्प नरहेको बताएका हुन् । उनले देशभरीका नेता तथा कार्यकर्ताहरुलाई विघटित प्रतिनिधिसभाको पुनर्स्थापनाका लागि अगाडि बढ्न आग्रह गरे ।

‘अब देशमा अविलम्ब प्रतिनिधिसभाको, असंवैधानिक ढंगले, अनाधिकृत सिफारिसमा भंग भएको प्रतिनिधिसभाको अविलम्ब पुनर्स्थापना हुनुपर्छ । हुन्छ अब अर्को बाटो छैन । त्यही बाटोबाट अब देश अगाडि बढ्ने छ, अर्को बाटो छैन । कसलाई मन पर्छ कि पर्दैन, को डराउँछ, कसको सातो जान्छ ? त्यो बेग्लै कुरा हो । अब देशमा प्रतिनिधिसभाको पुनर्स्थापना एक मात्र सही समाधान हो । यो एकमात्र बाटो हो,’– उनले भने ।

साथै, अध्यक्ष अ‍ोलीले राष्ट्रपति रामचन्द्र पौडेलले आफूसँग हुँदै नभएको अधिकार प्रयोग गरेर सुशीला कार्कीको नेतृत्वमा सरकार बनाएको र उक्त अवैधानिक सरकारले गरेको सिफारिको आधारमा प्रतिनिधिसभा विघटन गरेको बताए । बलमिच्याइँ, आगजनी र तोडफोडको भरमा विघटन भएको प्रतिनिधिसभा पुनर्स्थापित भएरै छाड्ने उनको भनाइ छ ।

‘सम्माननीय राष्ट्रपतिज्यूसँग पनि नभएको अधिकार, संविधानमा नभएको अधिकार प्रयोग गर्न पाइँदैन । त्यो प्रयोग गरेर, बलमिच्याइँका साथ आगजनी, तोडफोडको भरमा विघटन गरिएको प्रतिनिधिसभा अबिलम्ब पुनर्स्थाना गर्नुपर्छ,’– उनले भने ।