काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेका सन्तोष परियार, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) र जनार्दन शर्माले नेतृत्व गरेको प्रगतिशील राष्ट्रिय अभियानबीच ५ बुँदे सहमति भएको छ ।
सहमतिपत्रमा नेसपा (नयाँ शक्ति) को तर्फबाट दुर्गा सोव, प्रगतिशील जागरण अभियानबाट सुदन किराती र आजमात्रै रास्वपा परित्याग गरेको परियारले हस्ताक्षर गरेका छन् । सहमतिमा हस्ताक्षर गर्ने कार्यक्रममा नेसपा (नयाँ शक्ति) का पूर्व अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई, जनार्दन शर्मालगायतका नेताहरु पनि सहभागी थिए ।
सहमतिअनुसार एकता तथा ध्रुबीकरणका लागि नयाँ बन्ने एकीकृत पार्टीको नाम र चुनाव चिन्ह एउटै बनाउने, मंसिर ७ गते वृहत एकता घोषणा कार्यक्रम गर्ने सहमति भएको छ । साथै, देश तथा विदेशमा बस्ने प्रगतिशील, लोकतान्त्रिक, वामपन्थी र देशभक्त शक्तिहरु र विशेषगरी जेन–जी पुस्तालाई वृहत राजनीतिक पुनर्संरचनाको अभियानमा सहभागी हुन आह्वानसमेत गरिएको छ ।