कुनै ‘इफबट’ नगरिकन विशेष महाधिवेशनको माग सम्बोधन गरिनुपर्छः महामन्त्री शर्मा

कुनै ‘इफबट’ नगरिकन विशेष महाधिवेशनको माग सम्बोधन गरिनुपर्छः महामन्त्री शर्मा

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको विधानको दफा १७ (२) मा भएको स्पष्ट व्यवस्था विशेष महाधिवेशनको लागि बाध्यात्मक रहेको बताएका छन्। उनले नियमित महाधिवेशन पुस, माघ, वैशाख वा त्योभन्दा अघिपछि गर्न कांग्रेसको विधानले बाधा नपर्ने भए पनि विधानको दफा १७ (२) को
प्रष्ट निर्देशनलाई बेवास्ता गर्न नहुने बताएका हुन्। ‘विशेष महाधिवेशन ९० दिनभित्र अनिवार्य सम्पन्न गर्न विधानको दफा १७(२) को स्पस्ट निर्देशन छ। यो बाध्यात्मक छ,’ उनले भनेका छन् ।

विशेष महाधिवेशनको मागलाई विशेष महाधिवेशनको आयोजनाले कि त्यही समयावधिभित्र नियमित महाधिवेशनको आयोजनाले मात्रै सम्बोधन गर्न सकिने उनले बताएका छन्। यसलाई कुनै इफ, बट, इन्तु, परन्तु नगरिकन प्रष्ट ढंगले बुझ्न जरुरी रहेको उनले बताए । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले लिखित रुपमा माग गरेको विशेष महाधिवेशन आयोजना हुनुपर्ने उनले बताए ।

‘५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले लिखित रुपमा माग गरेको विशेष महाधिवेशन आयोजना गर्ने कि नगर्ने अहिलेको मुल प्रश्न हो । विशेष महाधिवेशनको मागलाई कि विशेष महाधिवेशनको आयोजनाले कि त्यही समयावधिभित्र नियमित महाधिवेशनको आयोजनाले मात्रै सम्बोधन गर्नसक्दछ । यसलाई कुनै इफ, बट, इन्तु, परन्तु नगरिकन प्रष्ट ढंगले बुझ्न जरुरी छ,’ उनले भनेका छन्।

उनले कांग्रेस केन्द्रीय समितिमा चलिरहेको छलफल पार्टी र राष्ट्रिय जीवनका लागि महत्त्वपूर्ण रहेको र केहिदिनभित्रै एकता र परिपक्वता साथ निर्णयमा पुग्नुपर्ने बताए । कांग्रेसले कांग्रेसको जीवनका लागि गर्नुपर्ने कामभन्दा ठूलो देशका लागि कांग्रेसले गर्नुपर्ने थुप्रै काम रहेको उनले बताएका छन् । ‘हामीले त्यसप्रति झनै गम्भीर हुनुछ । आन्तरिक मूल प्रश्नभन्दा माथिको यो मुल प्रश्नमा हामी सबल र सफल हुनुछ,’ उनले भने ।