गृहमन्त्री अर्यालको क्षमतामाथि प्रश्न उठाउँदै बालेनले मागे राजीनामा

गृहमन्त्री अर्यालको क्षमतामाथि प्रश्न उठाउँदै बालेनले मागे राजीनामा

काठमाडौं, ११ कात्तिक । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह र उनको सर्कलले गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा मागेको तथ्य बाहिरिएको छ ।

गृहमन्त्री अर्यालले क्षमता देखाएर पूर्व प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्व गृहमन्त्री एवं कांग्रेसका नेता रमेश लेखकलगायतलाई जेन–जी आन्दोलनमा दमन गरेको आरोपमा पक्राउ नगरेको भन्दै राजीनामा मागिएको हो । बालेन र उनको सर्कलले गृहमन्त्री अर्यालको राजीनामा मागेर ओली, लेखकलगायतको गिरफ्तारीको लागि दवाब सिर्जना गरेको स्रोतले बतायो ।

गृहमन्त्री अर्यालय पेशाले कानून व्यवसायी हुन् । उनी गृहमन्त्री हुनुभन्दा अघि काठमाडौं महानगरको कानूनी सल्लाहकार थिए । विश्वासपात्र मानिने अर्याललाई गृहमन्त्रीमा बालेनले नै सिफारिस गरेको चर्चा थियो । तर, अहिले ओलीलगायतलाई पक्राउ गर्न नसकेको भनी उक्त समूहमा गुनासो चुलिएको छ ।

बालेनका समेत विश्वासपात्र मानिने रुटिन अफ नेपाल बन्द पेजका सञ्चालक भिक्टर पौडेलले समेत गृहमन्त्री अर्यालको राजीनामा लागि आफ्नो सर्कलमा सर्कूलर गरेको बताइएको छ । जेन–जी आन्दोलनको क्रममा प्रहरीले गोली चलाउँदा भदौ २३ गते १९ जना युवाको ज्यान गएको थियो । प्रहरीलाई गोली चलाउन आदेश दिएको आरोपमा तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकलाई गिरफ्तार गरेर कारबाही गर्नुपर्ने माग सर्वसाधारणले समेत उठाउन थालेका छन् ।

यता भदौ २३ र २४ गतेको घटनासम्बन्धी छानविन गर्न बनेको आयोगले ओली, लेखकसहित ५ जनाको राहदानी रोक्का राख्ने र उनीहरुले काठमाडौं उपत्यका छाड्न नपाउने गरी स्थान हद तोकिसकेको छ ।

यता काठमाडौं महानगर प्रमुख शाहले पनि प्रधानमन्त्री कार्कीलाई पटक–पटक भेटेर तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलगायतलाई पक्राउ गर्नका लागि दवाब दिएको बताइएको छ । यसो त बालेन र ओलीबीच सुरुवाती दिनदेखि नै राम्रो सम्बन्ध छैन । ओलीले बालेनको र बालेनले ओलीको आलोचना, आरोप–प्रत्यारोप गर्दै आएका छन् ।