गृहमन्त्री अर्यालले जेन-जी आन्दोलन हिंसात्मक बन्नुको कारण खोले

गृहमन्त्री अर्यालले जेन-जी आन्दोलन हिंसात्मक बन्नुको कारण खोले

काठमाडौं। गृहमन्त्री ओमप्रकाश अर्यालले आपराधिक मानसिकता भएका व्यक्तिका कारण नजी आन्दोलन हिंसात्मक बनेको बताएका छन् । आज (शुक्रबार) ७० औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘आपराधिक मानसिकताका व्यक्तिहरूले आन्दोलनको आडमा नेपाल सरकारका महत्त्वपूर्ण प्रतिष्ठान, व्यापारिक प्रतिष्ठान, सार्वजनिक सेवा प्रदायक कार्यालयहरू तथा व्यक्तिका निजी सम्पत्ति समेतमा तोडफोड, आगजनी र लुटपाट गरी आन्दोलनलाई हिंसात्मक बनाए ।’

उनले सयौं प्रहरी कार्यालयमा आगजनी भएको बताए । ‘सवारी साधनहरु तोडफोड भए । हातहतियार तथा सुरक्षा उपकरणहरुको लुटपाट भयो । प्रहरीमाथि भौतिक आक्रमण पनि भयो तर नेपाल प्रहरी नागरिक स्पंदनमा बसेको संगठन हो भन्ने सत्य पनि हाल नागरिक सहभागितामा भएको मर्मत र पुनर्स्थापनाले पुष्टि गरेको छ ।’

सो क्रममा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक चन्द्रकुँवेर खापुङले गत भदौ २३ र २४ गतेको जेन(जी पुस्ताको प्रदर्शन र त्यसपछिका घटनाक्रमबाट देशले अकल्पनीय क्षति व्यहोर्नुपरेको बताएका छन्।

उनले राज्यको सबभन्दा अग्र पंक्तिमा सेवारत विशाल संयन्त्रयुक्त संगठनको रूपमा विकसित भएको नेपाल प्रहरी आजका दिनसम्म नागरिकको स्नेह, आक्रोश समानन्तर रूपमा प्राप्त र सामना गर्ने राज्यको सशक्त प्रतिनिधिको रूपमा स्थापित हुन सफल भएको बताए।