जनकपुर । मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरुलाई आह्वान गरिएको छ ।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संंविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमतको सरकार गठनका लागि भोली (बुधबार) अपराह्न ४ बजेसम्म दलहरुलाई आह्वान गरेकी हुन् ।
हुन त केही दिन पहिला मात्र नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलका नेता कृष्णा प्रसाद यादवले जनमत र एमाले संगको गठबन्धनमा आफ्नो नेतृत्वमा सरकार बनाउनका लागि प्रस्ताव पेश गरिसकेका छन् ।
बुधबार ४ बजेसम्म अन्य कुनै दलले दाबी पेस नगरेका खण्डमा कांग्रेसको नेतृत्वमै सरकार बन्ने देखिएको छ ।
आजै मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले विश्वासको मत लिने भनेकोमा उनले प्रदेश सभा बैठकमै राजिनामा दिएको घोषणा गरेका थिए । उनको राजिनामा प्रदेश प्रमुखले स्वीकृत समेत गरिसकेकी छन् ।