केन्द्रीय समिति विघटन गर्न कांग्रेसमा दवाब

केन्द्रीय समिति विघटन गर्न कांग्रेसमा दवाब

काठमाडौं । नेपाली कांग्रेसमा केन्द्रीय समिति विघटन गर्न प्रस्ताव गरिएको छ । केन्द्रीय समिति विघटन गरेर कार्यबाहक सभापतिको जिम्मेवारी दिएर नियमित महाधिवेशनमा जानुपर्ने प्रस्ताव आएको छ ।

ललिपुरको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा शनिबार बसेको पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकमा अहिलेको केन्द्रीय समिति विघटन गरेर नियमित महाधिवेशनमा जानुपर्ने प्रस्ताव आएको छ ।

कांग्रेस नेता डा. शशांक कोइरालाले केन्द्रीय कार्य समिति तत्काल विघटन गर्न पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गरेको बताए । पार्टी केन्द्रीय कार्यालयमा कोइरालाले सभापति देउवालाई कार्यबाहक सभापतिको जिम्मेवारी तोक्न सुझाव दिदै नियमित महाधिवेशनमा जानुपर्ने बताए ।


कोइरालाले आगामी मंसिरमा पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने भएकाले देउवाले कार्यवाहक सभापतिको जिम्मेवारी अरूलाई दिएर महाधिवेशनको मिति तय गर्ने वातावरण बनाउनुपर्ने बताए । कोइरालाले मंसिरसम्ममा पार्टीको नियमित महाधिवेशनको मिति तय हुने विश्वास समेत व्यक्त गरे ।

‘विशेष महाधिवेशन होइन कि नियमित महाधिवेशन गर्नु पर्छ । मैले शेरबहादुरजीलाई भनेँ, यो मेरो व्यक्तिगत विचार हो । मैले उहाँलाई भने तपाई विघटन गर्नुस् । एक जनालाई कार्यबाहक सभापति दिनुस्,’ उनले भने ।

कोइरालाले अब बन्ने कार्यवाहक सभापतिले पार्टीको आगामी महाधिवेशनको मिति तय गर्ने पनि बताए । कांग्रेसभित्र यस अघि विशेष महाधिवेशन गर्नुपर्ने भन्दै आवाज उठेको थियो ।

जेनजी आन्दोलनपछि नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको बहस कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहितका प्रमुख दलहरुमा चर्को रुपमा उठेको छ । तर यि पार्टीमा नेतृत्व गरिरहेका बृद्ध नेताहरुले नेतृत्व छोडन तयार देखिएका छैनन् ।

कांग्रेसमा नेता डा. शेखर कोइराला, महामन्त्रीद्धय गगन थापा, विश्वप्रकाश शर्मासहितका नेताहरुले विशेष महाधिवेशन गर्नुपर्ने भन्दै महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षर संकलन गरेका थिए । तर यी नेताहरु समेत अहिले विशेष महाधिवेशन नभई नियमित महाधिवेशनमै जानुपर्ने प्रस्तावमा सहमत छन् ।

बल्ल सुरु भयो युवा कोटाको बहस
 

कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीमा युवाहरूको सहभागिताका लागि छुट्टै कोटाको व्यवस्था गर्नुपर्ने बताएका छन् । पार्टीका युवाहरूले पार्टीको हरेक तहमा ४० प्रतिशत युवाहरूको सहभागिता सुनिश्चित गर्न माग गरेपछि उनले यस्तो बताएका हुन् ।

उपसभापति गुरुङले पार्टीमा युवाहरूलाई समेट्न पनि सो कोटा आवश्यक रहेको तर्क गरे । उनले पार्टीमा युवाहरूलाई समेट्ने कुरालाई बेवास्ता गर्न नमिल्ने पनि स्पष्ट पारे । तर कांग्रेसको अहिलेको केन्द्रीय कमिटीमा ४० बर्षमुनीका एक जना पनि सदस्य छैनन् ।

कांग्रेस नेता रञ्जित कर्णले अगामी महाधिवेशनबाट युवाहरुलाई केन्द्रीय समितिमा समेटने गरी व्यवस्था नभएको पार्टीमा युवाहरुले विद्रोह गर्ने अवस्थामा पुगेको बताए । युवापुस्तालाई केन्द्रीय समितिदेखी, प्रदेश, जिल्ला एवं पालिका स्तरसम्मका समितिमा निश्चित कोटा छुटयाएर समावेश गर्नुपर्ने कर्णले बताए ।

‘यो सकारात्मक छ । ’cause युवाहरूलाई समेट्नु पर्दछ पार्टीमा । अहिलेसम्म युवाहरूलाई निश्चित कोटा छुट्ट्याइएको छैन विधानमा । त्यो छुट्ट्याउनुपर्छ भन्ने उहाँको माग हो भन्ने मलाई लाग्छ । त्यसकारण यो छुट्ट्याउन आवश्यक छ । युवा पंक्तिलाई इग्नोर गर्नु हुँदैन । युवाहरूको सहभागिताका लागि केन्द्रीय समितिमा तलदेखि माथिसम्म निश्चित कोटा नै छुट्ट्याउनुपर्छ । जसरी महिला, जनजाति, मधेसीलगायतका कोटा छुट्ट्याइएको छ । त्यसै अनुसार युवाहरूको पनि छुट्टै कोटाको व्यवस्था गर्नुपर्छ,’ उपसभापति गुरुङले भने ।

कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टी यथास्थितिमा जनतामा जान नसक्ने टिप्पणी गरे । उनले अहिलेको विधि, पद्धति र अनुहार लिएर कांग्रेस जनताको बिचमा स्थापित हुन नसक्ने दाबी समेत गरेका छन् ।

केसीले अहिलेको विधि र पद्धतिमा व्यापक परिवर्तन गर्न जरुरी रहेको बताए । उनले युवा पुस्ताको धारणालाई प्रतिनिधित्व गरेर अघि बढ्नुको विकल्प नरहेको भन्दै युवाहरूलाई हरेक तहमा प्रतिनिधित्व गराउनुपर्ने र त्यसका लागि विधानमै संशोधन आवश्यक रहेको बताए ।

महाधिवेशनका पक्ष्मा हस्ताक्षर जारी
 

कांग्रेसका युवाहरूले जेनजी पुस्ताको प्रतिनिधित्व हुनेगरी महाधिवेशन सुनिश्चित गर्न पार्टीको ध्यानाकर्षण गराएका छन् । कांग्रेसले महाधिवेशनगरी नेतृत्व परिवर्तन गर्न हस्ताक्षरण अभियानलाई समेत तिब्र बनाइरहेका छन् । हालसम्म ५० प्रतिशत महासमिति सदस्यको हस्ताक्षर संकलन भइसकेको नेताहरुको दाबी छ ।

नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य आकाश उप्रेतीले भने, ‘पार्टी विषम परिस्थितिबाट गुज्रिरहेको छ, पार्टीको हरेक तहका समितिहरू अधिवेशनको संघरमा भए पनि महाधिवेशन हुने नहुने अन्योलता छ । त्यसैले जेनजी प्रदर्शनपछिको अवस्थालाई ध्यान दिँदै पार्टी संगठनमा युवाहरूका लागि खुला पार्टीका रूपमा स्थापित गराउन, मुलुकमा व्याप्त व्यथितिप्रति प्रगतिशील विचार भएका जेनजी समूहलाई आउँदो महाधिवेशनमार्फत सबै तहमा स्थापित गराउनु अनिवार्य छ । यसै विषयमा नेतृत्वको ध्यानाकर्षण गराएका छौं ।’

युवाहरूले सबै तहका निर्वाचनमा कम्तीमा पनि ४० प्रतिशत युवालाई पार्टीको उम्मेदवारका रूपमा अगाडि बढाउनुपर्ने व्यवस्था विधानमा नै उल्लेख गराउन, पार्टीका विभिन्न तहका समितिमा आउन हाल रहेका प्रतिबन्धात्मक व्यवस्था निलम्बर गर्न, पार्टीमा मनोनित र प्रतिनिधित्व गरिने पदहरूमा समावेशितालाई ध्यानमा राखी ४० प्रतिशत युवाको प्रतिनिधित्व सुनिश्चित गराउन ध्यानाकर्षण गराएका छन् ।

सूचना तथा सञ्चार विभाग प्रमुख मीन विश्वकर्माले ‘जेनजी’ समूह’bout राखिएका माग सकारात्मक रहेकाले निश्चित व्यवस्था गर्न पहल गर्ने बताए ।

यसैबीच, कांग्रेसको केन्द्रीय समितिको बैठक दुई दिन पछाडि सरेको छ । २६ असोजका लागि बोलाइएको केन्द्रीय समिति बैठक अब २८ असोजमा बस्नेभएको छ । पदाधिकारी, पूर्वपदाधिकारीको बैठक जारी रहेकाले केन्द्रीय समितिको बैठक दुई दिन पछाडि सारिएको कांग्रेस नेता श्याम घिमिरेले जनाएका छन् ।

राजधानी दैनिकबाट