काठमाडाैं। अचानक मौसम बिग्रँदा सगरमाथाको तिब्बती मोहडातर्फको क्षेत्रमा फस्न पुगेका करिब ३५० जना पदयात्रीलाई उद्धारकर्मीहरूले सुरक्षित स्थानमा पुर्याएको चिनियाँ सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन्।
अन्य दुई सय जनाभन्दा धेरैसँग सम्पर्क भएको र तिनलाई सुरक्षित स्थानमा सार्न बाँकी रहेको ती विवरणमा भनिएको छ। सगरमाथाको पूर्वी मोहडातर्फ जाने तिब्बती उपत्यकामा भारी हिमपात हुँदा सयौँ पर्यटकहरू फस्न पुगेका हुन्।
चीनमा यो सप्ताहान्तबाट आठ दिने राष्ट्रिय बिदा सुरु भएको छ र यो समयमा उक्त क्षेत्रमा उल्लेख्य पर्यटकहरू जाने गर्छन्। सामाजिक सञ्जालमा आएका सामग्रीहरूमा पालहरू पुरिएका देखिएका छन्।
उद्धारकर्ताहरूले पर्यटकहरूको समूहलाई अवरुद्ध बाटो र सडक हुँदै सुरक्षित स्थानतर्फ जान सघाइरहँदा सामाजिक सञ्जालका ती सामग्रीमा देखिएका एक पथप्रदर्शकले उक्त स्थितिलाई वर्षको यो समयमा भएको असामान्य हिमपातका रूपमा अर्थ्याएका छन्।
उक्त क्षेत्र ४,९०० मिटरभन्दा अधिकको उचाइमा छ। पर्यटकको उद्धारका निम्ति उद्धारकर्मीका साथै गाउँलेहरू पनि खटिएका छन्।
स्थानीय अधिकारीहरूका अनुसार उक्त क्षेत्रमा प्रवेश भारी हिमपातले गर्दा शनिवारदेखि रोकिएको छ।
प्राय: मौसम सामान्य र आकाश सफा रहने भएकाले अक्टोबर महिनालाई सगरमाथा र आसपासका क्षेत्रमा जाने वर्षको उत्तममध्येको समय मानिन्छ।
तर यो वर्ष स्थिति विपरीत बन्न पुग्यो र सगरमाथाको पूर्वी मोहडातर्फको तिब्बतको कर्मा उपत्यकामा शुक्रवारदेखि सुरु भएको हिमपात तीव्र बन्न जाँदा पदयात्री र पथप्रदर्शकहरू फस्न पुगे।
"हिमाली क्षेत्र निकै चिसो र ओसिलो थियो। हाइपोथर्मिया एउटा वास्तविक जोखिमका रूपमा देखा पर्यो," वोदाङ क्षेत्रबाट उद्धार गरिएका एक पदयात्रीले समाचारसंस्था रोएटर्ससँग भने।
"यो वर्षको मौसम सामान्य छैन। पथप्रदर्शकले अक्टोबरमा यस्तो मौसमको कहिल्यै सामना गर्नु नपरेको बताए। त्यो सबै एक्कासी हुन पुग्यो।"