काठमाडौं। मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत तुइन खोला नजिक पुन: पहिरो खसेर राजमार्ग दुईतर्फी अवरुद्ध भएको छ। मंगलबार साँझ ७ बजेतिर फेरि इच्छाकामना गाउँपालिका–५ स्थित तुइन खोलानजिक यसअघि कै स्थानमा पहिरो खसेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।
पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहले अनलाइखबरलाई जानकारी दिए। सडक विभाग अन्तर्गत सडक डिभिजन कार्यालय भरतपुरका अनुसार तुइन खोला नजिक पहिलेकै स्थानमा माथिबाट लेदो खसेको छ।
कार्यालयका अनुसार अहिले प्राविधिक टोलीले जेसीबीसहितका मेसिन प्रयोग गरेर पहिरो पन्छाउने कार्यमा लागिसकेका छन्। ठूलो पहिरो नभएकाले केहीबेरमा सडक खुल्ने इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक सिंहले बताए।
गत ३ असोजमा पहिरो खस्न सुरु भएको तुइन खोलामा त्यसयता पटकपटक सडक अवरुद्ध हुँदै आएको थियो।