काठमाडौं, ११ असोज । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जेन–जी आन्दोलनको क्रममा पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा जलेको भनिएको पैसाबारे सरकारले अनुसन्धान गर्नुपर्ने बताएका छन् ।
आज (शनिबार) मकवानपुरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले सभापति देउवाको घरमा पैसा फेला परेको भनिएको घटना अनुसन्धानबाट टुंग्याउनुपर्ने बताएका हुन् ।
महामन्त्री शर्माले सामाजिक सञ्जालमा आएको प्रचारको पछि लाग्नुभन्दा पनि कि त पैसाबारे बुढानीलकण्ठले जवाफ दिनुपर्ने र होइन भने सरकारले अनुसन्धान गर्नुपर्ने बताए । ‘कि त यो पैसा आफ्नो हो कि होइन भन्ने कुरा बुढानिलकण्ठले जवाफ दिनुपर्यो। कि त सरकारले अनुसन्धान सुरु गर्नपर्यो । अवैध सम्पत्ति भेटिए सबैको सम्पत्ति छानबिन गर्नपर्यो,’– उनले भने ।
अवैध सम्पत्ति छानविनको सुरुवात आफैबाट गर्ने भए पनि आफू तयार रहेको विश्वप्रकाशले बताए । सभापति देउवाको घरमा सुनको पनि चर्चा रहेको बताउँदै उनले चर्चामा आएका सबै कुरा निष्पक्ष छानविन हुनुपर्ने बताए ।
जेन–जी आन्दोलनको क्रममा प्रदर्शनकारीहरुले गत भदौ २४ गते देउवा निवास बुढानीलकण्ठमा आगजनी गरेका थिए । सो क्रममा देउवा निवासमा पैसाको थुप्रो जलिरहेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो ।