काठमाडौं । नेपालीहरूको महान् चाड बडादशैँको आज (शुक्रबार) पाँचौँ दिन । आज दुर्गा भवानीका नौ रूपमध्ये पाचौँ रूप स्कन्दमाता भगवतीको पूजाआजा गरिँदै छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा र पाँचौँ दिन स्कन्दमाताको पूजा गरिन्छ । त्यस्तै, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गर्ने चलन छ । दशैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाउने गरिन्छ ।
माता दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकको रूपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीज लगायतका राक्षसलाई वध गर्न लिएका नौ रूपको दुर्गा पक्षका अवसरमा विशेष पूजा हुन्छ । नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमदभागवत र अन्य देवी स्तोत्र एवं स्तुतिको पाठ गरिन्छ ।
नवरात्रमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छौटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ । दशैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाउने गरिन्छ । घटस्थापनादेखि विजयादशमीसम्मको अवधिलाई नवरात्र पनि भनिन्छ । यस अवसरमा दुर्गादेवीको विशेष आराधना गरिन्छ । दुर्गा देवीका तीन रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आहृवान गरी पूजा गरिन्छ । उपत्यकामा मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, रक्तकाली, श्वेतकाली, दक्षिणकाली, इन्द्रायणी, सुन्दरीमाई, बज्रयोगिनीलगायत प्रसिद्ध शक्तिपीठ छन् ।
यस्तै, देशभरमा रहेका विभिन्न शक्तिपीठमा देवीको विशेष आराधाना, पूर्जा गर्ने गरिन्छ । काभ्रेको नाला भगवती, काभ्रेकै पलाञ्चोक भगवती मन्दिर, नुवाकोटका जाल्पामाई र भैरवी, ताप्लेजुङको पाथीभरा, धरानको दन्तकाली, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता, पोखराको विन्ध्यवासिनी, बाग्लुङ कालिका, अर्घाखाँचीको अर्घा भगवती, भोजपुरको सिद्धकाली, डडेल्धुराको उग्रतारालगायत मन्दिरमा विशेष पूजा आराधना हुने गर्छ ।
नवरात्रका अवसरमा शक्तिपीठमा पुगी पूजा आराधनासहित देवीको दर्शन गरेमा मनोकांक्षा पूरा भई वर्षभरका लागि शक्ति प्राप्त हुने विश्वास गरिन्छ । यसै विश्वासका आधारमा देशभरका शक्तिपीठमा नवरात्रभर भक्तजनको भिड लाग्ने गर्छ ।