कांग्रेस सरकारले नियुक्त गरेका प्रदेश प्रमुख नेकपाले किन हटायो? को बन्ला नयाँ प्रदेश प्रमुख

कांग्रेस सरकारले नियुक्त गरेका प्रदेश प्रमुख नेकपाले किन हटायो? को बन्ला नयाँ प्रदेश प्रमुख

काठमाडौँः मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सातै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले प्रदेश प्रमुखको नियुक्ति र पदमुक्त गर्न सक्ने संवैधानिक व्यवस्था छ ।

आइतबार बसेको मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख हटाइएको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।


निर्णय अनुसार प्रदेश १ का प्रमुख प्रा.डा. गोविन्द बहादुर तुम्बाहाङ, प्रदेश २ का रत्नेश्वर लाल (कायस्थ), प्रदेश ३ का अनुराधा कोइराला, गण्डकीका बाबुराम कुँवर पदमुक्त भएका हुन्। यस्तै, प्रदेश ५ का उमाकान्त झा, कर्णालीका दुर्गाकेशर खनाल र सुदूरपश्चिम प्रदेशका मोहनराज मल्ल पदमुक्त भएका हुन्।

वर्तमान सरकार गठन भएसँगै प्रदेश प्रमुख हटाउने चर्चा भए पनि लामो समयदेखि निर्णय भएको थिएन। वर्तमान प्रदेश प्रमुखहरु तत्कालीन शेर बहादुर देउवा नेतृत्वको सरकारको सिफारिसमा नियुक्त भएका थिए।

आइतबार नै नयाँ प्रदेश प्रमुख चयन गर्ने तयारी भए पनि मन्त्रिपरिषद बैठक सोमबार बिहानसम्मका लागि स्थगित भएको छ। सोमबारको बैठकले नयाँ प्रदेश प्रमुख चयन गर्ने तयारी छ।