काठमाडौं। बडादशैं सुरु भएसँगै मुलुकको हवाई उडानमा चाप बढेको छ। विशेषगरी अन्तर्राष्ट्रिय उडानमा चाप भएपनि आन्तरिकतर्फ भने सामान्य रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ। दशैंमा काठमाडौंबाट विभिन्न गन्तव्यमा जाने हवाइ यात्रुको संख्या उल्लेख्य रहेको छ।
विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार अहिले विदेशबाट नेपाल आउने हवाई यात्रुको संख्या वृद्धि भइरहेको छ। केही विदेशी वायुसेवा कम्पनीले उडान थपेका छन्। कतिपय एयरलाइन्सले चार्टर्ड उडान पनि गरिरहेका छन्।
“अन्तर्राष्ट्रियतर्फ आवागमन बढ्दो क्रममा छ। आन्तरिकमा साविक बमोजिम सामान्य छ”, प्रवक्ता शेर्पाले भने, “अबको विजया दशमीको दिनसम्म आन्तरिकतर्फ पनि उडान बढ्ने सम्भावना छ।”
प्रवक्ता शेर्पाका अनुसार शनिबार अन्तर्राष्ट्रियतर्फ १०६ उडान भएका छन्। जसमा ५४ आगमन भए भने ५२ वटा प्रस्थान भए। यी उडानबाट आठ हजार २९ यात्रु नेपाल आएका छन्। आन्तरिकतर्फ २२२ उडान भएका छन्। यसमध्ये काठमाडौंबाट बाहिरिने यात्रुको संख्या ६ हजार ८७५ रहेको छभने भित्रिनेको संख्या चार हजार ६५ रहेको छ।
आइतबार अन्तर्राष्ट्रियतर्फ ५५ उडानमार्फत आठ हजार ५०० यात्रु भित्रिएका छन्। छ हजार ८०० यात्रु बाहिरिएका छन्। आन्तरिकमा कूल २२९ उडानमार्फत सात हजार ८८७ र पाँच हजार ५०५ यात्रु काठमाडौं भित्रिएका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर दैनिक ३०० भन्दाबढी उडान हुन्छ। यसमध्ये आन्तरिकतर्फ २५० बढी र अन्तरराष्ट्रियमा दैनिक १०० हाराहारी उडान हुन्छ। विमानस्थल बिहान ६ बजेदेखि राति १ बजेसम्म सञ्चालन हुँदै आएको छ।
आन्तरिकतर्फ १२ हेलिकप्टर कम्पनीसहित २१ वायुसेवा कम्पनीले सेवा दिइरहेका छन्। अन्तर्राष्ट्रियतर्फ तीन नेपालीसहित ३० हवाई कम्पनीले उडान भर्दै आएका छन्।