बुढाहरू आउन भएन भनेर गगन दाइलाई भनेको छु : सुदन गुरुङ

बुढाहरू आउन भएन भनेर गगन दाइलाई भनेको छु : सुदन गुरुङ

 काठमाडौं। हामी नेपालका संयोजक सुदन गुरुङले नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापालाई अब पुराना नेताहरू नेतृत्वमा आउन नहुने सुझाव दिएको बताएका छन्।

शुक्रबार राष्ट्रपति निवास शीतलनिवासमा संविधान दिवसको अवसरमा परेर चियापान तथा शुभकामना कार्यक्रम आयोजना गरेको थियो।

सो कार्यक्रममा पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, निवर्तमान सांसदहरूदेखि नयाँ पुस्ताका अगुवाहरूसमेत उपस्थित थिए । पछिल्लो समय चर्चाको शिखरमा रहेका गुरुङ पनि त्यहाँ उपस्थित भएका थिए। सोही कार्यक्रममा पुगेका महामन्त्री थापासँग सुदनले केहीबेर गफ गरेका थिए। 

सो क्रममा अब बुढा नेताहरू नेतृत्वमा आउन नहुने सुझाव गगनलाई दिएको शनिबार एक भिडियो सन्देशमार्फत सुदनले बताएका छन्। ‘मैले गगन दाईलाई नि भेटेँ, यस्तो तालले भएन दाई, तपाईंहरू के के गर्नु हो गर्नु, यो बुढाहरू यसरी आउन भएन भनेर भनेको छु,’ गुरुङले भनेका छन्।

उनले संविधानकै कारण पुराना नेताहरू जोगिएको समेत गगनलाई बताएको भनेका छन् ।

‘तपाईंहरूलाई प्रोटेक्ट गरेको भनेको संविधानले हो। संविधान फालेको भए, प्रेसिडेन्ड (राष्ट्रपति) पनि जान्थ्यो, स्टेट अभिभावकलेस हुन्थ्यो,’ गगनसमक्ष आफूले राखेको कुरा उनले भनेका छन्।

विशेषगरी गत २३ र २४ भदौमा भएको जेनजीहरूको आन्दोलनपछि गुरुङ चर्चामा छन्। उनी केपी शर्मा ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएपछि बनेको नयाँ सरकार गठन प्रक्रियामा पनि सामेल थिए।

राष्ट्रपति निवासमा भएको शपथ ग्रहण कार्यक्रममा त उनले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीलाई खुट्टामा ढोगेका थिए। जुन विषय सामाजिक सञ्जालमा पनि चर्चाको केन्द्र बनेको थियो।