काठमाडाैं। काठमाडाैं उपत्यकामा पछिल्ला ६ दिनदेखि जारी निषेधाज्ञा र कर्फ्यु आज बिहानदेखि हटाइएका छन्।
नेपाली सेनाले भदौ २४ गतेदेखि क्रमशः सूचना जारी गर्दै काठमाडौं उपत्यका र अन्य जिल्लामा लागू निषेधाज्ञा तथा कर्फ्युबारे जानकारी दिँदै आएको थियो। तर आज भने न त सेनाले, न त स्थानीय प्रशासनले यससम्बन्धी नयाँ सूचना सार्वजनिक गरेका छन्।
प्रतिबन्धात्मक आदेश हटेसँगै उपत्यकाको दैनिकी क्रमशः सामान्य अवस्थामा फर्किन थालेको छ। काठमाडौं मात्र होइन, देशका अन्य जिल्लामा पनि आजदेखि निषेधाज्ञा र कर्फ्यु हटाइएको छ।
जेन–जी आन्दोलन उत्कर्षमा पुगेपछि भदौ २३ गते दिउँसोदेखि देशभरका संवेदनशील क्षेत्रमा प्रशासनले कर्फ्यु र निषेधाज्ञा लागू गरेको थियो। तर गएराति आन्दोलनको भावनाअनुरूप राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेपछि परिस्थितिमा सहजता देखिएको हो।