नयाँ सरकारको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गर्ने सहमति

नयाँ सरकारको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गर्ने सहमति

काठमाडाैं। राष्ट्रपति कार्यालय शितल निवासमा भर्खरै भएको सहमतिअनुसार पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आज राति ९ बजे अन्तरिम सरकार प्रमुखका रूपमा शपथग्रहण गराइने भएको छ।

राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार कार्कीको नियुक्ति र शपथलगत्तै मन्त्रिपरिषदको पहिलो बैठक बस्नेछ।

त्यही बैठकले प्रतिनिधिसभा विघटनको निर्णय गर्ने र स्वीकृतिको निम्ति राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सहमति भएको छ।

'मन्त्रिपरिषदले प्रतिनिधिसभा विघटनको सिफारिस गरेपछि राष्ट्रपतिबाट स्वीकृत हुनेछ,' पोखरेलले भने।

आन्दोलनरत जेन-जी युवाहरूको मागअनुरूप संसद विघटन गरी कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने सहमति जुटेको हो।

राष्ट्रपति रामचन्द्र पौडेल र जेन-जी युवाहरूबाट प्रधानमन्त्रीमा प्रस्तावित पूर्वप्रधानन्यायाधीश कार्कीबीच कसको सिफारिसमा संसद भंग गर्ने भन्नेबारे कुरा मिल्न नसकेपछि प्रधानमन्त्री नियुक्तिमा विलम्ब भइरहेको थियो।

राष्ट्रपति पौडेलले कार्कीलाई 'म तपाईंलाई प्रधानमन्त्री नियुक्त गर्छु' र प्रधानमन्त्री भएपछि पहिलो मन्त्रिपरिषद बैठकबाटै संसद विघटन र निर्वाचन मिति निर्णय गरी ल्याउनू भनेका थिए। तर आन्दोलनरत जेन-जीका प्रतिनिधिहरू संसद विघटन गरेर मात्र अन्तरिम सरकार गठन हुने मागमा अडिग रहे। त्यही आधारमा वार्ता लम्बिँदै गएको थियो।