इन्द्रजात्राको अवलोकन गर्न राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म पुगे, ओलीको स्वागतमा बालेन देखिएनन्

इन्द्रजात्राको अवलोकन गर्न राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म पुगे, ओलीको स्वागतमा बालेन देखिएनन्

काठमाडौं। राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र प्रतिनिधिसभाका सभामुखलगायतले इन्द्रजात्राको अवलोकन गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलगायतले वसन्तपुर पुगेर इन्द्रजात्राको अवलोकन गरेका हुन् । इन्द्रजात्रामा काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह पनि सहभागी थिए ।

राष्ट्रपति पौडेललाई मेयर साहले स्वागत गरेका थिए भने प्रधानमन्त्री ओलीको स्वागतमा उनी देखा परेनन् । प्रधानमन्त्री ओलीलाई प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले स्वागत गरेका थिए ।

वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी परम्परागत रूपमा इन्द्रजात्रा पर्व मनाइको छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्ददशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठदिनसम्म मनाउने प्रचलन छ ।

भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गोलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ । लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रूपमा इन्द्रजात्रा मनाउने गरिएको हो । इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रूपमा पनि इन्द्रजात्रालाई लिइन्छ ।

यसअघि तान्त्रिक विधिद्वारा पूजा गरी भक्तपुरको चितपोल जङ्गलमा छोडिएको बोकाले छोएको रूख भाद्र शुक्ल द्वितीयाका दिन काटिन्छ । काटेपछि लिङ्गोलाई उपत्यका भित्र्याउन पनि साइत हेरिन्छ । उपत्यका भित्र्याएपछि एक रात भोटाहिटीमा राखी एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिङ्गो तयार पार्ने गरिन्छ ।

आजको दिन मुख्य रूपमा मनाइने इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका गणेश, भैरव र कुमारीको रथयात्रा नजर गर्ने परम्परा छ । राजतन्त्र रहुञ्जेल राजाबाट गणेश, भैरव र कुमारीको रथयात्रा नजर गर्ने परम्परा थियो ।